काठमाडौं– अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को १९औँ संस्करण आगामी ९ देखि १३ डिसेम्बरमा आयोजना हुने भएको छ । महोत्सवकी निर्देशक रम्यता लिम्बूका अनुसार पाँच दिने महोत्सवका लागि हाल फिल्म छनोटको काम भइरहेको छ । सिनेमा प्रदर्शन, अन्तक्र्रिया र विभिन्न गतिविधिका साथ आयोजना हुने किम्फमा यसपटक ’ग्रीन ग्रोथः ग्रीन रिकभरी’ विषयमा सर्ट फिल्म प्रतियोगितासमेत आयोजना हुनेछ । किम्फले सो प्रतियोगितामा फिल्मकर्मीहरुलाई सहभागी हुन आह्वान गरेको छ ।
किम्फको वेबसाइटमा राखिएको जानकारीअनुसार सर्ट फिल्म प्रतियोगिताका लागि आगामी १२ नोभेम्बरसम्म फिल्म बुझाइसक्नु पर्नेछ । पाँच मिनेट अवधिका फिल्म जलवायु परिवर्तनका मुद्दा, त्यसका अवसर तथा चुनौतीका विषयमा केन्द्रित हुनुपर्ने बताइएको छ । जलवायु परिवर्तनको विश्वव्यापी असर देखिएको बेला फिल्ममार्फत् नेपाल र नेपालीमाझ जलवायु परिवर्तनको बदलिँदो स्वरुपबारे बुझन् यो सर्ट फिल्म फेस्टिभल आयोजना गर्न लागिएको निर्देशक लिम्बूले बताएकी छन् ।
संसारभर असर पारेको र छलफल भइरहेको यस विषयमा नेपाली पनि सहभागी हुनु जरुरी भएको उनले जोड दिइन् । ‘ग्रीन ग्रोथः ग्रीन रिकभरी’ विषयमा सर्ट फिल्म प्रतियोगिता किम्फ र वार्षिक रुपमा राजधानीमा आयोजना हुने किम्फ र नेपाल–युरोपियन युनियनको आयोजनामा हुन लागेको हो । प्रतियोगितामा फिक्सन र ननफिक्सन दुवै खालका सिनेमा पठाउन पाइने छ । मोबाइलबाट खिचिएका फिल्म पनि मान्य हुनेछन् ।
प्रतियोगितामा छनोटमा पर्ने फिल्मबारे १५ नोभेम्बरमा जानकारी सार्वजनिक गरिने उनले बताइन् । उत्कृष्ट १० फिल्म १९औँ संस्करणको अवधिबीच प्रदर्शन गरिने छन् । प्रथम हुने फिल्मलाई पाँच सय युरो प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।