काठमाडौं– यसवर्षको ‘स्टाइल आइकन नेपाल’ उपाधि माटुर रेहमान र रोजी लामिछानेले जितेका छन् । वर्षको उत्कृष्ट मोडलको उपाधि पुरुष र महिलातर्फ क्रमशः माटुर र रोजीले जितेका हुन् । उनीहरूले ‘स्टाइल आइकन’को उपाधिसँगै जनही २५ हजार रूपैयाँ र विभिन्न उपहार पनि प्राप्त गरेका छन् ।
मोस्ट ट्यालेन्टको उपाधि पनि रोजीले नै हाँसिल गरिन् । काठमाडौंमा मोडलहरूको प्रतियोगिता ‘स्टाइल आइकन नेपाल २०२१’ सम्पन्न भएको हो । यो प्रतियोगिताको आयोजना इभेन्ट बेटर ग्यालेक्सीले गरेको हो । प्रतियोगितामा नौ जना पुरुष र १९ जना महिला मोडल सहभागी थिए ।
प्रतियोगितामा पुरुषतर्फ फस्ट रनर अप सुजन थापा र सेकेण्ड रनर अप सन्तोष आचार्य भए । त्यस्तै, महिलातर्फ सृजा खरेल फस्ट रनर अप र निर्मला धिताल सेकेण्ड रनर अप घोषित भइन् । मोस्ट स्टाइलिसको उपाधि पुरुषतर्फ सम्यक महर्जन र महिलातर्फ चन्दु शाहीले प्राप्त गरिन् ।
स्वस्तिका राजभण्डारीको कोरियोग्राफ्रीमा सम्पन्न सो प्रतियोगिताका डान्स कोरियोग्राफरमा लिजा श्रेष्ठ थिए । मोडलिङ क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि योगदान दिँदै आएको भन्दै अभिनेता तथा अग्रज मोडल कोरियोग्राफर प्रशान्त ताम्राकारलाई सम्मान पनि गरिएको थियो । मोडलिङ क्षेत्रमा नवप्रवेशीहरूलाई प्रोत्साहित गर्नका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।