काठमाडौं– हाल प्रदर्शनमा रहेको आफ्नो मल्टिस्टारर फिल्म ‘डाँडाको वर पीपल’ असफल भएपछि निर्देशक सोभित बस्नेतले अर्को फिल्म निर्माणको घोषणा गरेका छन् । उनको फिल्म ‘डाँडाको वर पीपल’ २६ असोज अर्थात् फूलपातीको दिनदेखि फिल्म हलमा लागिरहेको छ ।
उक्त फिल्ममा अघिल्लो पुस्ताका तीन सुपरस्टार शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्लको अभिनय छ । शिव र गौरीको छोराको भूमिकामा सलोन बस्नेत देखिएका छन् भने उनको अपोजिटमा रुबिना थापाले अभिनय गरेकी छन् । मल्टि स्टारर फिल्मले दसैँका बेलामा पनि दर्शक तान्न सकेको छैन । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको हल खुलेपछि प्रदर्शनमा आएको पहिलो नेपाली चलचित्रले दर्शकलाई हलसम्म तान्न सकेन ।
निर्देशक बस्नेतको फिल्म हलमा नचले पनि निर्देशक बस्नेत र निर्माता नवराज गिरीलाई भने खास चिन्ता नभएको बताइन्छ । किनकी उनले यो फिल्म सिनेमा हलका लागि नभई डिजिटल प्लेटफर्ममा रिलिज गर्न बनाइएको थियो । दशैँमा फिल्म रिलिज गर्न कोही निर्माता तयार नहुनु र चलचित्र विकास बोर्डले तत्काल रिलिज हुने फिल्मलाई राहत दिने घोषणा गरेपछि ‘डाँडाको वर पीपल’ लाई हलमा रिलिज गर्ने निर्णय गरिएको थियो । यो फिल्मलाई हलमा रिलिज गर्न निर्माताको एक रूपैयाँ पनि खर्च भएको छैन । बरु, उल्टै केही लाख फाइदा भएको छ । यही तिहारमा फिल्मलाई डिजिटल प्लेटफर्ममा पनि रिलिज गरिनेछ ।
फिल्म रिलिजको समयमा निर्देशक बस्नेतले ‘महानायक’ विवाद झिकेपछि बुढासुब्बा डिजिटलका सञ्चालक तथा फिल्मका निर्माता गिरी उनीसँग रुष्ट थिए । त्यसबेला अब उनीहरूबीच कहिल्यै सहकार्य नहुने चर्चा पनि चलेको थियो । यद्यपि, शोभित बस्नेतलाई निर्देशकमा लिएर बुढासुब्बाले अर्को फिल्म बनाउने भएको छ । तिहारपछि छायांकनमा जाने फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको बताइएको छ ।
निर्देशक बस्नेत नयाँ फिल्ममा पनि सलोन बस्नेत र रुविना थापालाई नै दोहो¥याउने सोचमा छन् । उनले भने, ‘कलाकार फाइनल भइसकेका छैनन् तर अहिलेसम्म मेरो दिमागमा सलोन र रुबिनाको अनुहार आएको छ । गौरी मल्ल र राजिवजंग बस्नेतको पनि अभिनय रहन सक्छ । केही दिनमा फिल्मको नामसँगै कलाकारको पनि टुंगो लगाउने छौँ ।’ सलोन र रुविनाले ‘डाँडाको बर पीपल’ मा प्रेम जोडी भएर काम गरेका थिए । यो फिल्ममा रुबिनाको कामबाट प्रभावित भएर शोभितले नयाँ फिल्ममा पनि उनलाई लिने सोच बनाएका हुन् ।