काठमाडौं — फुटबलर्स मिसन टुगेदरको आयोजनामा शनिबार शुरु मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी भेट्रान्सले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
आर्मीको जितमा विकर्ण श्रेष्ठले ह्याट्रिक गरे । यस्तै हरि महतो, राजु तामाङ, जनमत कार्की र चक्र तामाङले एक–एक गोल गरे । फुटबल फेलोसिपका लागि नन्दनाथ खड्गीले एक गोल फर्काए । यस्तै दोस्रो खेलमा भनीमण्डल स्पोर्टिङ क्लबले पनि न्युरोड टिम (एनआरटी) लाई २–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । भनीमण्डलका लागि विजय श्रेष्ठ र कृष्ण मालाकारले गोल गरे ।
तेस्रो खेलमा भने फ्रेन्ड्स क्लब भेट्रान्स र एसएनकेसीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । फ्रेण्ड्सका लागि तेज थापा र मनोज लामाले गोल गरे भने एसएनकेसीका लागि बालगोपाल साहुखल र राजेश मालीले गोल गरे ।
प्रतियोगितामा कूल २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।