काठमाडौं– ‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ सुन्दरीहरू भिड्ने भएका छन् । आयोजक उमंग क्रियसनले ग्राण्ड फिनालेमा १६ जना प्रतियोगीबीच प्रतिष्पर्धा हुने जानकारी दिएको हो । बिहीबार भएको एक कार्यक्रममा १६ जना नै प्रतियोगीले रेड कार्पेटमा र्याम्पवाक गर्दै मिडिया तथा उपस्थित दर्शक माझ आफ्नो परिचय र भविश्यको उद्देश्य बताएका थिए ।
याक एण्ड यतिको लाल दरबार कन्भेन्सन सेन्टरमा आयोजना भएको कार्यक्रममा १६ जाना प्रतियोगीले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला शशक्तिकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकको शिक्षा लगायत बिभिन्न सामाजिक मुद्दाका विषयमा बनाइएको २ देखि ३ मिनेटको भिडियो समेत प्रस्तुत गरियो ।
प्रतियोगितामा १६ बाट अब शीर्ष १० छानिने छन् । छनोटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिसत आइएमई एपमा प्रतियोगीलाई प्राप्त भोटिङ हुनेछ । सोही एपबाट मिस ‘युनिभर्स नेपाल २०२१’को पिपुल्स चोइसमा भोटिङ गर्न सकिने र प्रतियोगिताको ग्राण्ड फिनालेको भिआइपी टिकटसमेत प्राप्त गर्न सकिने आयोजकले कार्यक्रममा जानकारी दियो ।
प्रतियोगिताको ग्राण्ड फिनाले १३ कात्तिक शनिबार आयोजना हुनेछ । प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । ‘मिस युनिभर्स’ का लागि उमंग क्रियसनले गत वर्षबाट प्रतियोगी पठाउन थालेको हो । गत वर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् ।