काठमाडौं– सरकारले दोलखामा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी)लाई प्राथमिकताका साथ अघि बढाउने भएको छ । फिल्म सिटीको पछिल्लो अवस्था बुझ्न सञ्चार मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्याल नेतृत्वको एक टोलीले हालै दोलखाको डाँङडुँगेडाँडास्थित निर्माण क्षेत्रको अवलोकन गरेको छ । सचिव अर्यालले प्राकृतिक सौन्दर्यता र ‘इनडोर स्टुडियो’को लागिसमेत यो स्थानमा फिल्म सिटी उपर्युक्त हुने देखिएको भन्दै सरकारले प्राथमिकता साथ काम अघि बढाउने जानकारी दिए ।
मन्त्रिपरिषद्ले ५ वर्षअघि भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवं सञ्चालनका लागि निर्देशन दिएको थियो । सोही आधारमा एक हजार ५०० रोपनीभन्दा बढी क्षेत्रफल रहेको उक्त क्षेत्रमा फिल्म सिटी बनाउन बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत बनाइसकेको छ ।
सञ्चार सचिव डा अर्यालले उच्च पहाडी स्थानमा रहेको दुर्लभ फिल्म सिटीमध्येमा यो ठाउँ भएकाले यसको महत्व अरू बढी हुने समेत बताएका छन् । यहाँबाट देखिने हिमालय शृंखला, अनेक थरी लालीगुँराससहितको फूल, चट्टान, खोलानाला र हरियालीले फिल्म सिटीलाई प्राकृतिक रूपमा समेत साथ दिने बताए । प्रस्तावित अन्तर्राष्ट्रिय चलचित्र नगरीमा प्रशासनिक भवन तथा गेट निर्माणका लागि वाग्मती प्रदेश सरकारबाट भीमेश्वर नगरपालिकामार्फत रु.तीन करोड ५० लाख रकम विनियोजन भई कामसमेत सुरु भइसकेको छ । डिपिआरमा केही थपघट गर्नुपर्ने भए त्यसलाई समेत हेरी बाँकी काम बढाउन वर्तमान सरकारले विशेष चासो दिने सचिव अर्यालले बताए । यसअघि नै मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६÷२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एक सय चारवटा रूखबिरुवा हटाउन स्वीकृति दिएको छ ।
ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो । डाँङ्डुगेडाँडामा फिल्म सिटी बनेमा यहाँ अहिलेसम्मको विश्वको सबैभन्दा बढी उचाइमा फिल्म सिटी बन्ने, आर्थिकरूपमा नेपाल सम्पन्न हुँदै जाने, सामाजिक तथा प्राविधिकरूपमा उपयुक्त ठाउँ रहेको र हावापानीको हिसाबले पनि अति उपयुक्त रहेको प्राविधिकहरूको मूल्यांकन छ ।