बाँके– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने जानकारी गराएका छन् । नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो जानकारी गराएका हुन् ।
उनले आफ्नो टिमबाट अन्य नेताले पनि सभापतिको आकांक्षा राखेको बताए । तर सो टिममा सल्लाहमा नै अन्तिममा सभापतिको एउटै उम्मेदवार हुने बताए । उनले प्रजातन्त्र भनेको सामूहिक नेतृत्व भएकोले पनि आफुहरू मिलेर एकजना उम्मेदवार दिने जानकारी गराए । उनले आफू सभापतिका लागि तयार भएर बसेको भए पनि अरु आफ्ना साथीहरू पनि सभापतिको उम्मेदवारमा इच्छुक देखिएको बताए । उनले भने ‘केही साथीको सभापतिमा उठ्न इच्छुक सुनिएको छ तर सबैसँग छलफल गरेर एउटै उम्मेदवार टुंगो लगाउँछौँ । उनले अब पनि समयमै अधिवेशन नहुँदा पार्टी संकटमा पर्न सक्ने बताए ।
उनले पार्टीको अधिवशेन नभए, पार्टी वैधानिक संकटमा पर्न सक्ने बताउँदै अधिवेशन जरुरी भइसकेको बताए । उनले वैधानिक संकटबाट कांग्रेसलाई उतार्नुपर्ने अवस्था आइसकेको बताए । त्यस्तै अहिलेको अवस्थामा संविधानको कार्यान्वयन गर्ने दायित्व कांग्रेसले नै पूरा गर्नुपर्ने उनको धारणा थियो । उनले कम्युनिस्ट पार्टीको नेतृत्वले जनताको अपेक्षाअनुसारको काम नगरी मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेकाले सरकार हटाउन बाध्य भएको बताए । उनले कांग्रेसको नेतृत्वको वर्तमान सरकारले हिजोको सरकारले गरेका ती गल्तिलाई दोहो¥याउन नहुने सुझावसमेत दिए ।
उनले कांग्रेस एक्लै लडेर चुनाव जित्न सक्षम भएको भन्दै अब आउँदो चुनावमा कांग्रेस एक्लै जाने बताए । उनले कांग्रेस पार्टीको मात्र नभई सबै कार्यकर्ताको भावना पनि कांग्रेस एक्लै चुनावमा जानुपर्ने भएकाले कार्यकर्ताको भावना अनुसार नै आफुहरू चुनावको लागी तयार हुने उनको भनाइ थियो ।