काठमाडौं — उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा इलामको रोङ गाउँपालिकाले पहिलो जित र भक्तपुर नगरपालिकाले सान्त्वना जित हात पारेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार सिमकोट गाउँपालिकालाई ११–० गोल अन्तरले पराजित गर्दै रोङले पहिलो जित निकालेको हो ।
रोङको जितमा इन्दिरा राईले ५ गोल गरिन् । अनिता राईले ह्याट्रिक पूरा गरिन् । त्यस्तै विमला बिक, दिपा राई र अनिशा राईले एक एक गोल गरिन् । पहिलो खेलमा रोङले काठमाडौं महानगरपालिकासँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै मंगलबारै सम्पन्न अर्को खेलमा भक्तपुर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा सान्त्वना जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुतलीबजार नगरपालिकालाई ८–१ गोल अन्तरले पराजित गर्दै भक्तपुरले पहिलो जित निकालेको हो । भक्तपुरको जितमा कप्तान करुणा परियारले ह्याट्रिक पूरा गरिन् । यस्तै मनिषा बास्कोटा र सिम्रन बस्नेतले दुई–दुई गोल गरिन् भने अजिता घर्तिमगरले एक गोल गरिन् ।
यता पुतलीबजारकी जोस्निका मरासिनीले एक गोल फर्काइन् । यस जितसँगै समूह ‘सी’ को भक्तपुरले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । यस समूहबाट बाँसगढी नकआउट चरणमा पुगिसकेको छ ।
प्रतियोगितामा विभिन्न ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले विभिन्न १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।