काठमाडौं– बोल्ड नायिकाको छवि बनाएकी सुरविना कार्की नेपाली चलचित्र ‘काँडेतार’मा अनुबन्धित भएकी छन् । लामो समयदेखि फिल्मबिहीन उनी हालै बन्न लागेको चलचित्र ‘काँडेतार’मा अनुबन्धित भएकी हुन् । फिल्मका निर्माता तथा निर्देशक नवल खड्काले उनलाई नायिकको रूपमा अनुबन्ध गरेका हुन् । निर्माता तथा निर्देशक नवल र नायिका सुरविनाबीच हालै कागजी सम्झौतासमेत सम्पन्न भइसकेको छ । कागजी सम्झौतापछि खिचिएको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै नायिका सुरविनाले खुसी व्यक्त गरेकी छन् ।
सुरविना लामो समयदेखि सफलताको खोजीमा छिन् । फिल्म ‘झेली’ बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी उनले त्यसयता आधा दर्जन फिल्ममा अभिनय गरे पनि करिअरले गति समात्न सकेको छैन । नेपाली फिल्ममा भविष्य नदेखेपछि उनी बलिउडमा प्रवेश गर्न तीन वर्ष भारत समेत बसिन् । तर, बलिउड छिर्ने उनको सपना पूरा हुन सकेन । कोरोना महामारीअघिसम्म भारतमा संघर्षरत उनी कोरोना महामारी सुरु भएपछि भने नेपाल फर्किएकी थिइन् ।
कोरोना महामारी सुरु भएयता उनी नेपालमै छिन् । पहिलो लकडाउनमा उनले अभिनय गरेको ‘के माया लाग्छ र ?’ गीतले उनलाई एकाएक चर्चामा ल्याएको थियो । यो गीतबाट उनी दर्शकमाझ धेरथोर चिनिएकी छन् । तर, विगत पाँच वर्षदेखि उनी फिल्मविहीन थिइन् । उनको पछिल्लो रिलिज फिल्म ‘लुकामारी’ हो । लामो समयको प्रतिक्षापछि सुरविनाको हातमा नयाँ फिल्म ‘काँडेतार’परेको हो । राष्ट्र र राष्ट्रियताको विषयमा निर्माण हुन लागेको फिल्ममा आफू आबद्ध हुन पाएकोमा सुरविनाले खुसी व्यक्त गरेकी छन् । उनीभन्दा अगाडि यो फिल्ममा नायक गौरव पहारी र नायिका रेविका गुरुङ अनुबन्ध भइसकेका छन् । निर्देशक खड्का स्वयंले पनि फिल्ममा अभिनय गर्नेछन् ।
तिहारपछि छायांकनमा निस्कने फिल्मले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय उठाउने निर्देशक खड्काले जानकारी दिएका छन् । फिल्मले राष्ट्रलाई झकझकाउने पनि उनको विश्वास छ । नेपाल र भारत सीमामा खिचिने यस फिल्मलाई नवल र शंकर कार्कीले निर्देशन गर्नेछन् । नवलले यसअघि पनि राष्ट्रियताको विषयमा ‘आवाज, दशगजा’ जस्ता फिल्म बनाएका छन् ।