काठमाडौं– सिंगिङ रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम प्रतिष्पर्धा आगामी शनिबार पोखरामा हुने भएको छ । आगामी शनिबार हुने ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले बाराही घाटमा आयोजना तय भएको हो । फाइनल प्रतिस्पर्धामा दुई टोली उपाधिका लागि भिड्दैछन् । फाइनलमा पुगेको टोलीमा एक प्रकाश पराजुली र मीना बुढाथोकीको टोली रहेको छ, भने अर्काे बालचन्द्र बराल र शोभा कार्कीको टोली रहेको छ । यी मध्ये विजेताले शीर्ष उपाधि उठाउने छ भने पराजित दोस्रो घोषित हुनेछ ।
फाइनल स्पर्धामा तेस्रो पोजिसनका लागि भने सविन आचार्य र रिता राउतको टोलीसँग राजेन्द्र पाठक र मीना नेपालको टोली भिड्नेछ । दर्शकको मतका आधारमा समेत बिजेता छानिने भएकोले आयोजक भोटिङ राउण्ड खुला गरेको छ । आफ्नो पक्षमा भोट गराउन प्रतियोगी अहिले अभिनयमा जुटेका छन् । प्रजापति पराजुली, सीता थापा, गीतकार रमेश बि.जी र चन्द्र शर्मा निर्णायक रहेको प्रतियोगितामा डिजिटल अडिसन ३५ टोली छानिएका थिए ।
त्यसपछि फिजिकल अडिसनमार्फत २४ टोली छानिएका थिए । सोमा प्रथम हुने टोलीले रु. २० लाख र रु. १ करोड बराबरको जीवन बिमा तथा दोस्रो हुने टोलीले रु. १० लाखसँगै ५० लाख बराबरको जीवन र तृतीय हुनेले रु. ३ लाख प्राप्त गर्नेछन् । सान्त्वना हुने टोलीले रु. २ लाख पाउने आयोजकले जनाएको छ । गायक बद्री पंगेनी र गायिका प्रीति आलेले सञ्चालन गर्दै आएको शो नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार राति ८ः५० बजे प्रसारण हुँदै आएको छ ।