काठमाडौं– आजभन्दा दुई दशक अगाडि नेपाली सिने क्षेत्रमा प्रवेश गरेका नायक संजोग राणा अहिलेका व्यस्त कलाकार बनेका छन् । त्यतिबेला चलचित्रमा आफूले चाहेजस्तो भूमिका पाउन मुस्किल नै थियो ।
कुनै पनि काम सानोबाट सुरु गरेर त्यसलाई फराकिलो बनाउँदै लान सकेमात्र उसले सफलता पाउँछ । त्यसैमध्येका एक हुन संजोग राणा । त्यतिबेला चलचित्र निर्माण कम हुन्थे र कलाकार पनि सीमित थिए । त्यही समयमा सिनेमाकोे क्षेत्रमा आफ्नो जीवन देखेका संजोगले निरन्तरको संघर्षपश्चात यो सफलता हासिल गरेका हुन् ।
तत्कालीन समयमा चलेका निर्देशक तथा कलाकारहरूको संगत र आफ्नो हरदम मिहिनेतले गर्दा आज आफ्नो पृथक पहिचान बनाउन सक्षम राणाले ‘ढुंगे युग’, ‘लुट कम्पनी’, ‘छल’, ‘धुम २’, ‘धुम ४’, ‘हिरोज’, ‘रेलिमाई’, ‘नदेखिएको जात’, ‘मधुमाला’लगायतका चलचित्रमा आफ्नो अभिनय क्षमता पस्किसकेका छन् । उनी अभिनित पछिल्लो चलचित्र ‘धुम ४’ यही १८ कात्तिकबाट प्रदर्शनमा आउने तय भएको छ ।
डेब्यु चलचित्र ‘लुट कम्पनी’बाट नै दर्शकको मन जितेका संजोगले अन्य चलचित्रमा पनि आफूलाई फरक रूपमा प्रस्तुत गर्दै आइरहेका छन् । ‘मैले सकेसम्म आफ्नो क्यारेक्टरलाई फरक गर्न खोज्छु’, उनी भन्छन् ‘एक्सन, रोमान्टिक, सेन्टिमेन्टल सबै प्रकारका पात्रको भूमिकालाई न्याय गर्न सक्ने क्षमता आफूमा भएको ठान्दछुँ ।’