मोरङ– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले आगामी चैत मसान्तसम्म सबै नेपालीलाई कोरोना खोप लगाउने लक्ष्य रहेको बताएका छन् । बुधबार कोशी अस्पतालको निरीक्षण एवं अनुगमन गर्दै उनले अमेरिकासँग एक करोड र चीनसँग ६० लाख कोरोना खोप ल्याउने सम्झौता भइसकेको जानकारी दिँदै सरकारले लक्ष्य समयमा पूरा हुने दाबी गरे । उनले सरकारको लक्ष्य अनुरूप नैै १२ वर्षदेखि १८ वर्षसम्मका लागि खोप लगाउने तयारी भइरहेको जनाए । त्यस्तै उनले विश्व स्वास्थ्य संगठनले मान्यता दिनासाथ दुई वर्षदेखि १२ वर्षसम्मकालाई खोप लगाउने कार्य पनि सुरु गरिने जानकारी दिए ।
कोशी अस्पतालको अनुगमनको क्रममा मन्त्री खतिवडाले संघीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताए । सो अस्पताल प्रदेश नं १ को सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रका रूपमा रहेकाले पनि नागरिकलाई गुणस्तरीय एवं उच्चस्तरीय सेवा प्रदान गर्न सरकारले सहयोग गर्ने बताए । उनले हाल सो अस्पतालमा ३५० श्यया रहेको र त्यसलाई स्तरोन्नति गर्दै थप ५०० शैय्यामा विस्तार गर्न सरकारले निर्देशन दिइसकेको बताए ।
उनले नागरिकलाई सहज र सरल एवं गुणस्तरीय रूपमा सेवा प्रदान गर्न प्रसूति कक्ष, स्त्री रोग, क्यान्सर रोग विशेषज्ञ चिकित्सक, प्रगोगशालालाई आवश्यक पर्ने दक्ष जनशक्ति व्यवस्था गर्ने जानकारी दिए । उनले यस अस्पताललाई प्राथमिकतामा राखेका कारण हाल पाँच करोडको लागतमा भवन निर्माण कार्य सुरु भइरहेको जानकारी दिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले स्वास्थ्य बिमा समितिबाट अस्पतालले रकम पाउन बाँकी रहेकाले औषधिको रकम तथा अस्पताल विकास समितिका कर्मचारीलाई तलब भुक्तानी गर्न समस्या उत्पन्न भएको गुनासो गरे । उनले अस्पतालले बिरामीको उपचार सेवा प्रभावकारी रूपमा प्रदान गरिरहेको जनाउँँदै दैनिक एक हजारदेखि एक हजार ५०० बिरामी अस्पताल आउने हुनाले तत्काल जनशक्ति थप गर्न मन्त्रीसमक्ष आग्रह गरे ।