काठमाडौं– कैलाश राई निर्देशित फिल्म ‘मनसँग मन’ को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार साँझ फिल्ममा समावेश ‘टपक्कै सयपत्री’ बोलको मारुनी गीत सार्वजनिक गरेको हो । गीतमा भावना थापाको स्वर र अमोङ गुरुङको शब्द तथा संगीत छ । कमल राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री वर्षा सिवाकोटीले मारुनी नाचमा कम्मर जमेकी छन् ।
गीतमा मारुनी नाचको माध्यमबाट तिहारको महत्वलाई पनि झल्काइएको छ । नेपाली फिल्ममा मारुनी नाचलाई प्राथमिकता दिएको कमै पाइन्छ । यो फिल्ममा वर्षासँगै पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दाहाललगायतको पनि अभिनय छ । ‘चालबाज’ नाममा छायांकन भएको फिल्मको पछि नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो ।
यो फिल्म कोरोना महामारीका कारण प्रदर्शनमा आउन सकेको छैन । गत २७ चैतलाई फिल्मको प्रदर्शन घोषणा गरिएको भए पनि कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि निर्माण टिमले प्रदर्शन मिति स्थगन गरेको थियो । अब फिल्म कहिले प्रदर्शनमा आउँछ, टुंगो छैन । फिल्ममा अर्ज‘न जिसीको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र सन्तोष खवासको द्वन्द्व निर्देशन छ ।
सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा अरुण तामाङले निर्माण गरेको फिल्मको कथा र पटकथा निर्देशक राईले तयार पारेका हुन् । द्वन्द्व निर्देशन सन्तोष खवासको छ । सस्पेन्स लभस्टोरी कथामा निर्माण भएको फिल्मको अधिकांश छायांकन दार्जिलिङ आसपासमा भएको हो । पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गरेका पुष्प र वर्षा फिल्मलाई लिएर उत्साहित छन् ।