काठमाडौं– बलिउड फिल्म ‘उचाइँ’को नेपालमा जारी छायांकन सकिएसँगै भारतीय कलाकारको टोली स्वदेश फर्किएको छ । उक्त फिल्म नेपालमा सगरमाथा आधार शिविर र मनाङमा छायांकन गरिएको थियो । मनाङमा बुधबार फिल्म ‘प्याकअप’ भएपछि कलाकार टोली शुक्रबार काठमाडौं फर्किएर शनिबार भारत प्रस्थान गरेको छ ।
निर्देशक सुरज बडजात्याले आफ्नो नयाँ फिल्म ‘उचाइँ’ को नेपाल छायांकन पूरा गरेको बताएको छन् । ४० दिनको सेड्युलसहित उनी कलाकार र प्राविधिकको टोली लिएर नेपाल आएका थिए । छायांकनका लागि हिमाली क्षेत्र रोजेकाले मौसम भिलेन बन्न सक्ने उनको पूर्व अनुमान थियो । तर, मौसमले राम्रो साथ दिएकाले उनले २५ दिनमै फिल्मको नेपाल छायांकन प्याकअप गरेका हुन् ।
बुधवार मनाङमा फिल्मको पहिलो चरणको छायांकन पूरा गरेर कलाकार र प्राविधिकको टोली शुक्रबार काठमाडौं फर्किएको छ । भारतबाट कलाकारसहित १२५ जनाको टोली लिएर निर्देशक बडजात्या नेपाल आएका थिए भने ३५० जनाको ‘फिल्म क्रु’ नेपालबाट थपिएको थियो । भारतबाट आएको टिम शनिबार स्वदेश फर्किएको फिल्मका प्रोडक्सन डिजाइनर पुष्कर लामाले जानकारी दिएका छन् । फिल्मको छायांकनका लागि भारतीय कलाकारहरू अनुपम खेर, बोमन इरानी, परिणीति चोपडा, सारिका हसनलगायत नेपाल आएका थिए । फिल्ममा अमिताभ बच्चनको पनि अभिनय रहेको छ । तर, उनी भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् । नेपालमा उनको भागको छायांकनका लागि डुब्लिकेटको प्रयोग गरिएको थियो । फिल्मले मित्रताको कथा वाचन गर्छ ।
फिल्ममा नेपाली कलाकारहरू परमिता आरएल राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी, सरोज प्रजु लगायतको पनि अभिनय छ । नेपालमा काठमाडौं, लुक्ला, नाम्चे, बेसीसहर र मनाङमा छायांकन भएको ‘उचाइँ’ को दोस्रो चरणको सम्पूर्ण छायांकन भारतमा हुनेछ । नेपाल ओर्लिएदेखि नै अनुपम खेर, बोमन इरानी र परिणीति चोपडाले सामाजिक सञ्जालको माध्यमबाट नेपालको प्राकृति सौन्दर्यताको खुलेर प्रशंसा गर्दै आएका छन् । अनुपमले त दिनहुँ नेपालको सुन्दरताको बारेमा भिडियो बनाएर सोसल मिडियामा पोस्ट गरेका छन् । उनले पशुपतिनाथमा दर्शन गरेपछि हिन्दूहरूको धार्मिक स्थलमा आउन पाउँदा खुसी लागेको बताएका थिए ।