राम कुमार चौधरी
काठमाण्डौं /नेपाली भित्तेपात्रो अनुसार भदौ १७ गते कृष्ण जन्माष्टमी (अष्टम्की) उल्लेख गरेपनि थारु समुदायमा भदौ १८ गते मनाइएको छ । थारु भित्तेपात्रो अनुसार १८ गते कृष्णा जन्माष्टमी उल्लेख भएकाले पछिल्लो दिन उक्त पर्ब मनाईएको हो । आफ्नै कला सँस्कृतीमा रमाउने थारु समुदायमा कृष्णा अष्टमी अष्टम्कीको रुपमा मनाउने चलन छ । अष्टमकी मनाउने तरिका मौलिक रहेको छ ।
अष्टम्कीको अघिल्लो मध्यरातमा मीठो मीठो परिकार बनाएर दर खाने चलन छ । अष्टम्कीको दिन दिउँसो नुहाएर पानी र फलफुल खाने गरिन्छ ।
प्रचलन अनुसार, गाउँको मुखिया (बड्घरको) घरमा भित्तामा भगवानको कलात्मक चित्र (अष्टम्की) बनाइन्छ । साझ पख भगवान कृष्णको गीत गाउँदै चित्रमा पुजा गर्ने गरिन्छ ।
व्रत बसेमा आफुले चाहेको मनोकामना पूरा हुने बिश्वास थारु समुदायमा रहेको छ । पुजा गरिसके पनि फलफुल मात्र खाएर सुतिन्छ । भोलि पल्ट पुजा गरेको समान नजिकैको खोलामा गएर सेलाइन्छ । यसरी सेलाइसकेपछी मात्र व्रत समाप्त हुन्छ । बिबाह भएको दिदी बहिनीको लागि कोशेली (अग्रासन) छुट्याएर दिन जाने चलन रहेको छ ।
परम्परालाई निरन्तरता दिनको लागि देशभरका थारुहरुले हरेक वर्ष जस्तै यो वर्ष पनि एकै ठाउँमा जम्मा भएर अष्टम्की मनाएका छन् ।