
काठमाडौं– आनीहरूलाई सामाजिक गतिविधिमा सरिक गराउने दुईदिने कार्यशाला गोष्ठी सुरु भएको छ । काठमाडौंको स्वयम्भुमा सञ्चालन हुने दुईदिने कार्यक्रमको शनिबार उद्घाटन गरिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा सुरु भएको कार्यक्रममा १३ वटा गुम्बाका आनीहरूको सहभागिता रहेको समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले बताएका छन् । आइतबारसम्म हुने कार्यक्रममा विभिन्न प्रशिक्षकले विभिन्न विषयमा प्रशिक्षण दिने दोङले बताए ।
गोष्ठीमा सामाजिक सशक्तीकरण, बौद्ध धर्ममा आनीहरूको भूमिका, नेपालमा बौद्धधर्मको विकास क्रम र समाज सुधारमा आनीहरूको भूमिका विषयमा प्रशिक्षण दिइने बताइएको छ । उल्लेखित बिषयमा क्रमशः रूपेश श्रेष्ठ, आचार्य नुर्बु शेर्पा, पूण्यप्रसाद पराजुली र आनी छोइङ डोल्माले प्रशिक्षण दिने भएका हुन् । कार्यक्रममा समितिका कार्यकारी निर्देशक दोङले आनीहरूलाई प्रशिक्षित गराउने कार्यक्रम गतवर्षदेखि दाउन्नेबाट सुरु भएको भन्दै यसलाई निरन्तरता दिइएका बताएका छन् । उनका अनुसार आनीहरूमार्फत बौद्ध ज्ञानलाई सबै समुदायमा पुर्याउँदै शान्त सुखी र समृद्ध नेपाल बनाउनमा टेवा पुर्याउने कार्यक्रमको उद्देश्य रहेको बताए ।
यसैगरी, कार्यकारी निर्देशक दोङले बौद्ध ज्ञान गुम्बाहरूमा मात्रै सिमितता नगरी आम समुदायमा पुर्याउनु आजको आवश्यकता रहेको बताएका छन् । उनले इशापूर्व तेस्रो शताब्दीमा सम्राट अशोकले आफ्नी छोरीमार्फत धर्म प्रचार प्रसार गरेको स्मरण गराउँदै बौद्ध धर्मलाई सबैसम्म पुर्याउनु पर्ने बताए । कार्यक्रममा समितिका अध्यक्ष पुपू छेम्बे शेर्पाले बौद्ध धर्मले शान्तिको मार्ग लिएकाले यसको अनुसरण गर्नु पर्ने बताएका छन् । सिकेका सबै कुरा व्यवहारमा उतार्नका लागि पनि गोष्ठीमा सहभागीहरूलाई उनले आग्रह गरे । महिला सशक्तीकरणका लागि पनि आनीहरू अग्रसर हुनु पर्ने र सोही अनुसार आफूलाई तयारी अवस्थामा राख्नुपर्ने सुझाएका छन् । कार्यक्रममा समितिका सदस्य लोपेन निमा छिरिङ र आचार्य मोहनकुमार तामाङले बुद्ध दर्शनले नै लोकको कल्याण हुने बताए ।