काठमाडौं – एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेपछि विर्सनलायक परिणामसहित प्रतियोगिताबाट बाहिरिएको छ । समग्रमा तीन खेल खेलेको नेपालले १४ गोल खाँदै स्वदेश फर्कन लागेको हो ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित भएको हो । लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे । मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे । खेलको २६ औं मिनेटमा फरानले गोल गर्दै लेबनानलाई सुरुआती अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा जेइन फरानले व्यक्तिगत दोस्रो गोल गर्दै लेबनानलाई २–० को अग्रता दिलाए ।
खेलको ७४ औं मिनेटमा मोहमद नासिरले गोल गर्दा लेबनान ३–० ले अघि रह्यो । त्यसपछि खेलको ८२ औं मिनेटमा हेइदरले गोल गर्दै लेबनानलाई ४–० को जित दिलाए । यस जितसँगै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । तर, लेबनान अर्को चरणमा भने पुग्न सकेन । नेपाल जित विहीन रहदै घर फर्किएको छ । समूह ‘बी’को नेपालले अंक जोड्न सकेन । नेपाल पहिलो खेलमा इरानसँग ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।
नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो । यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ । इरान ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ताजिकिस्तान र इरानबीच आजै खेल हुनेछ । यस समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।