काठमाडौं– चार वर्षपछि फिल्म क्षेत्रमा कमव्याक गर्न लागेको सुपरस्टार राजेश हमाल नयाँ फिल्मलाई लिएर निकै गम्भीर देखिएका छन् । उनको मुख्य भूमिका रहने फिल्म ‘सत्यम्’लाई लिएर राजेश निकै गम्भीर देखिएका हुन् । लामो समयदेखि फिल्ममा फर्कन लागेका उनी दर्शक माझ केही छाप छाड्ने लालसामा रहेको देख्न सकिन्छ । हाल उनी फिल्म निर्माण टिमसँग पर्यटकीय गन्तव्य धम्पुसमा वर्कसपमा व्यस्त छन् । उनी आफ्नो फिल्मी करियरमा संभवत पहिलोपटक वर्कसपमा गम्भितापूर्वक सहभागी बनिरहेका छन् ।
करिअरको उत्कर्षमा उनलाई कुन फिल्ममा आफ्नो कस्तो भूमिका छ भन्ने कुरा सुटिङ सेटमा गएपछि मात्र थाहा हुन्थ्यो । वर्कसपका लागि समय दिन उनले फुर्सदै पाउँदैन थिए । ‘सत्यम्’ लाई लिएर उनी कति गम्भीर छन् यसबाट पनि बुझ्न सकिन्छ । यस फिल्ममा उनलाई एक्सन अवतारमा देख्न पाइनेछ । फिल्ममा उनीसँगै अहिलेका सुपरस्टार पल शाहको पनि अभिनय रहनेछ । उनको जोडीको रूपमा मलिका महत देखिनेछिन् भने भिलेनको भूमिकामा अपुनविक्रम शाही रहने छन् ।
धम्पुसमा हमालसँगै पल शाह, मलिका महत, किशन सुनार, मिलन सिजापतिलगायतका कलाकारहरूले वर्कसप गरिरहेका छन् । तिहारपछि छायांकन सुरु हुने फिल्मको इन्डोर छायांकनका लागि निर्माण टिमले ठूलो खर्चमा पोखरामा भव्य सेट निर्माण गरेको छ । उक्त सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरूको दृश्यहरू खिचिने निर्देशक शंकर कार्कीले जानकारी दिए ।
अभय बराल, प्रिन्स प्रसिद्द सिंह थापा, नेरिस्का स्थापित, सूजन परियारलगायतका कलाकारहरूको पनि अभिनय रहने फिल्मका निर्माता रेशम सापकोटा हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको फिल्ममा सह–निर्माताहरूमा रेशम गौतम, सुबास भुर्तेल, श्याम मल्ल र कृष्ण अधिकारी छन् । अष्टमान महर्जनको द्वन्द्व निर्देशन रहने यस फिल्ममा हमाल चार फरक लुक्स देखिनेछन् ।
राजेश हमाल र पल शाहले पहिलोपटक ठूलो पर्दामा स्क्रिन शेयर गर्न लागेका हुन् । यसअघि उनीहरूले एक म्युजिक भिडियोमा भने एकसाथ काम गरेका थिए । आफ्नो फेभरेट सुपरस्टारसँग फिल्ममा काम गर्ने अवसर पाएकोमा पल खुसी देखिएका छन् । त्यस्तै, उनले मलिकासँग पनि पहिलो पटक फिल्ममा काम गर्न लागेका हुन् । म्यूजिक भिडियोमा भने यो जोडी निकै जमेको थियो ।