
रूपन्देही– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको मौलिक पहिचानलाई विश्वसामु प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । आइतबार रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा गौतमबुद्धको मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक पुरातात्विक महत्वका स्थान र सामग्रीको अध्ययन अनुसन्धान र संरक्षण आवश्यक रहेको बताइन् ।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न भएपछि संसारका बौद्धमार्गीलाई अध्ययन अनुसन्धान गर्न सहज हुने बताइन् । राष्ट्रपति भण्डारीले विमानस्थलमा महाकरुणा बुद्धमूर्ति स्थापनाले सबैलाई सत्मार्गमा रहन सन्देश दिने बताइन् । विशेष प्रकारको धातुद्वारा निर्मित बुद्धको प्रतिमा अनावरणले दिगो विश्व शान्ति स्थापना गर्न मद्दत पुग्नुका साथै लुम्बिनीको विकासमा नयाँ आयाम थपिएको बताउँदै देश समुन्नतिको दिशामा अगाडि बढिरहेको अवस्थामा विकासको महाअभियानलाई सार्थक तुल्याउन सुझाव दिइन् । उनले यस क्षेत्रको भौतिक पूर्वाधारको विकासले यहाँका जनताको जीवनस्तर उकास्न सहयोग पु¥याउने बताइन् ।
उनले अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रूपमा विकास गर्न लुम्बिनी गुरुयोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको पनि बताइन् । उनले बुद्ध जन्मस्थलको उन्नयनका लागि विकासका गतिविधि सरल हुनुपर्नेमा जोड दिइन् । उनले यस क्षेत्रमा पर्यटकलाई दिने उत्कृष्ट सेवा तथा सत्कारले उक्त दर्शनको मूल मर्म र भावना पहिल्याउन योगदान पुग्ने र यसले स्थानीय समुदायको समृद्ध जीवनमा सहयोग पुग्ने विश्वास भएको बताइन् ।
राष्ट्रपति भण्डारीले लुम्बिनीलाई आधार बनाएर स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले आफूलाई बुद्ध दर्शन र परम्पराको अध्ययन अनुसन्धान गराउने विषयमा ध्यान केन्द्रित गर्न आग्रह गरिन् । उनले बौद्ध विश्वविद्यालयलाई विश्वकै एक उत्कृष्ट प्राज्ञिकस्थलको रूपमा विकास गर्न दृढ संकल्प लिनुुपर्ने बताइन् । करिब दुई अर्ब ५० करोड बराबरको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको हो । सो बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालबिन गु्रपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको हो । एक हजार ८०० केजी तौल भएको बुद्धमूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बुद्धमूर्ति बनेको छ ।