काठमाडौं– जनकपुरमा ९० को दशकका लोकप्रिय भारतीय गायक कुमार सानुको लाइभ कन्सर्ट हुने भएको छ । २७ कात्तिकमा जनकपुरधाममा आयोजना हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा सहभागी हुन उनी नेपाल आउने छन् । जनकपुरको होटल राज दरबारमा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित भारतीय गीत नेपाली दर्शकलाई सुनाउनेछन् ।
कुमार सानुले दुई दर्जन बढी नेपाली गीत पनि गाएका छन् । उक्त कन्सर्टमा उनले नेपाली गीत पनि गाउने आयोजक संस्था ब्लूबर्डले जानकारी दिएको छ । उनको आवाजमा रहेका ‘भरे आउँछु सपनीमा’, ‘फूल भए जिन्दगी’, ‘म त अब रिसाउँछु’, ‘साचिरहुँ जस्तो लाग्छ’, ‘मनको मन्दिर’, ‘जनम जनमको’, ‘म त आएँ, ‘यसपालीको वसन्तमा’लगायतका नेपाली गीत लोकप्रिय छन् ।
कन्सर्टमा कुमार सानुसँगै नेपालका चर्चित गायक सुगम पोखरेल, रोशन पराजुली र कलाकार पूजा ठाकुरले पनि प्रस्तुति दिनेछन् । दिउँसोको साढे ४ बजेबाट सुरु हुने कन्सर्टमा सहभागी हुनका लागि ४५ सय र ३ हजारको टिकट दर तय गरिएको छ । उक्त कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत प्रमुख अतिथीको रूपमा उपस्थित हुने आयोजक संस्थाले जनाएको छ ।
‘कुमार सानु लाइभ इन कन्सर्ट’ ले जनकपुरस्थित धार्मिक तथा प्रदेश २ को पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेमा आयोजक ब्लूबर्ड इन्टरटेन्मेन्ट र सह आयोजक जनकपुर उद्योग वाणिज्य संघले विश्वास व्यक्त गरेको छ । एक भिडियो सन्देशमार्फत् गायक सानुले आफू जनकपुरमा आउन लागेको बताएका छन् । उनी यसअघि केही पटक सांगीतिक प्रस्तुतिका लागि नेपाल आइसकेका छन् ।