काठमाडौं– चर्चित अभिनेत्री रेखा थापाले नेपाली फिल्म क्षेत्र राज्यको प्राथमिकतामा नपरेको गुनासो गरेकी छन् । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण थला परेको फिल्म क्षेत्रलाई उकास्नका लागि राज्यको तर्फबाट खास केही पहल नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी हुन् । सामाजिक सञ्चालन फेसबुकमा स्टाटस पोष्ट गर्दै अभिनेत्री रेखा थापाले नेपाली फिल्म क्षेत्र ‘सकै आफैँ बाँच, नसके मर’को अवस्थामा रहेको बताएकी छन् ।
कोरोनाले नेपालको फिल्म क्षेत्रलाई १० वर्ष पछाडि धकलेको फिल्मकर्मीहरूको भनाइ छ । दुई वर्षदेखि सुरु भएको कोरोना महामारीले फिल्म क्षेत्र तहसनहस बनाएको छ । यतिबेला फिल्म निर्माण र प्रदर्शन गर्न कोही निर्माता तयार देखिएका छैनन् । कोरोनाले गर्दा हलसम्म दर्शक आउन पनि डराएको अवस्था छ । कोरोनाले थला पारेको फिल्म क्षेत्रलाई उठाउन राज्यबाट पनि कुनै पहलकदमी नभएको कलाकारहरूको गुनासो छ ।
हुनत, यसअघि पनि राज्यको प्राथमिकतामा फिल्म क्षेत्र परेको थिएन । अन्य देशले फिल्मको माध्यमबाट कला, संस्कृति र भाषाको जगेर्ना तथा प्रवद्र्धन गर्न विशेष महत्व दिने गरेका छन् । यसका लागि ठूलो धनराशी पनि खर्च गर्छन् । नेपालमा भने यसतर्फ राज्यले चासै नदिएको भन्दै गुनासो गर्नेको जमात ठूलो छ । यस्तैमा अभिनेत्री रेखाले पनि फेसबुकमार्फत आफ्नो गुनासो सार्वजनिक गरेकी हुन् ।
उनले आइतबार फेसबुकमा लेखेकी छन्, ‘दुनियाँलाई चिनियाँ सभ्यता देखाउन चीन अर्बौं खर्च गर्दछ, अरु देश पनि आफ्नो भाषा–संस्कृतिको उत्तिनै जगेर्ना गर्दछन् ।
सिक्किम सरकारले समेत आफ्नो पहिचान बढाउन त्यहाँ छायांकन गर्ने फिल्मलाई एक करोड अनुदान दिने घोषणा गरेछ । नेपालमा भने फिल्मको संसार ‘सके आफैँ बाँच–नसके मर’ को अवस्थामा छ ।’
कला कसैको दयाले जिउने पेसा नभए पनि भोलिको दिनमा भाषा र नेपाली मौलिक पहिचान कस्तो होला भनेर उनले चिन्ता व्यक्त गरेकी छन् । फिल्मको माध्यमबाट नेपालको मौलिक पहिचान र कला–संस्कृतिको प्रवद्र्धन गर्न राज्यले ध्यान दिन जरुरी रहेको उनको भनाइको आशय हो ।
उनले लेखेकी छन्, ‘कला कसैको दयाले जिउने पेसा त होइन, तथापि भोलिको दिनमा हाम्रो भाषा र मौलिक नेपाली पहिचान कस्तो होला भन्ने हो ?’ यतिबेला रेखा नयाँ फिल्मको तयारीमा छिन् । पछिल्लोपटक उनी ‘मालिका’ मा देखिएकी थिइन् ।