
काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिम कम भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार संग्रहालयमा विदेशी पर्यटकको आवागमन बढेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको पहिलो चरणको लकडाउन र दोस्रो चरणको बन्दाबन्दीका कारण लामोसमयदेखि पर्यटकविहीन बनेको संग्रहालयमा पर्यटकको आगमन बढ्न थालेको हो ।
ललितपुर महानगरपालिका–१६ स्थित सो संग्रहालय कोरोना महामारी सुरु भएपछि बन्द गरिएको थियो । तर, पछिल्लोसमय कोरोनाको जोखिम कम भएपछि गत २३ भदौदेखि सर्वसाधारणका लागि संग्रहालय खुलाइएको थियो । संग्रहालय खुलेपछि आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्न थालेको हो । संग्रहानलयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेका अनुसार अहिले बन्दाबन्दी सकिएपछि विदेशी पर्यटकहरू पनि उल्लेख्य संख्यामा संग्रहालयको अवलोकनका लागि आउन थालेका छन् । उनले भने, ‘दोस्रो बन्दाबन्दी सकिएर संग्रहालय खुलेसँगै विदेशीको चहलपहल पाटनमा दिनानुदिन बढ्दै गइरहेको छ ।’ उनका अनुसार संग्रहालय खुला गरिएसँगै गएको आइतबारसम्म कुल ८०२ जना विदेशी पर्यटकले संग्रहालय अवलोकन गरिसकेका छन् ।
यसबीचमा भारत, चीन, इजरायल, अष्ट्रेलिया र स्पेनका नागरिकहरू दरबार क्षेत्र घुम्न आउने क्रम बढिरहेको एकद्वार पर्यटन शुल्क व्यवस्थापन तथा कार्यान्वयन समितिका प्रमुख सविना महर्जनले जानकारी दिइन् । उनले भनिन् ‘संग्रहालय भ्रमण गर्ने स्वदेशी आगन्तुकको संख्या पनि हरेक दिन बढी नै रहेको छ ।’ खुलाइएको लगभग दुई महिनामा कुल पाँच हजार नौले संग्रहालय घुमेका उनले जानकारी गराइन् ।
बिदाको दिन बाहेक प्रत्येक दिन बिहान १० देखि साँझ साढे चारसम्म संग्रहालय खुला हुने गर्छ । दरबार क्षेत्रमा मानिसको चहलपहल बढेसँगै आफूहरू पनि दिनभरि घाम तापेर परिसरमा बस्ने गरेको सुन्धाराका आशाराम महर्जनले बताए । तिहार नजिकिएपछि दरबार क्षेत्रमा अझ भीड बढेको छ । संग्रहालय रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषित गरिसकेको छ । सो क्षेत्रको कलाकारितालाई हेरेर कतिपयले सुन्दरताको सहरका नामलेसमेत सम्बोधन गर्ने गरेको पाइन्छ ।
पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्रका रूपमा दरबार क्षेत्रलाई लिइन्छ । यहाँ शिखरशैलीमा ढुंगाबाट निर्मित नेपालको एक मात्र २१ गजुर भएको कृष्ण मन्दिरका साथै भीमसेन अनि नरसिंह तथा जगत्नारायण आदिको मन्दिर छन् । सङग्रहालय रहेको पाटन क्षेत्र धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रूपमा परिचित नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो मानिन्छ ।
पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कात्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छन् । पाटन दरबारमा काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निमाण भई चीनको खासा अनि ल्हासा र भुटानको थिम्पुसम्म व्यापार हुने गर्छन् । संग्रहालयभित्र सातँैँ शताब्दीको उमामहेश्वर मूर्तिको फलकका साथै १४ शताब्दीको विष्णुकमलाज अर्थात् लक्ष्मीनारायणको मूर्तिसमेत अवलोकन गर्न पाइन्छ ।