काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवको जिम्मेवारी विष्णु राज ढकाललाई दिएको छ । मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को ब्यवस्था नहुदाँसम्मका लागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिएको हो ।
राष्ट्रिय खेलकुद विकास ऐनको धारा १७ को उपधारा १२ ले कुनै कारणले सदस्य सचिवको पद रिक्त भएमा वा कुनै कारणले निलम्बन भएमा अर्को सदस्य सचिव नियुक्ति वा निजको निलम्बन फुकुवा नभएसम्मको लागि मन्त्रालयले संघीय निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को वरिष्ठतम् कर्मचारीलाई सदस्य सचिवको रूपमा कामकाज गर्ने गरी तोक्ने सक्ने उल्लेख छ ।
गत कात्तिक १ गते सरकारले राखेप सदस्य सचिव रमेश कुमार सिलवाललाई पदबाट मुक्त गरेको थियो । खेलकुद मन्त्री गहतराजले सचिव आउने बित्तिकै राखेप सदस्य सचिव नियुक्ति प्रक्रिया ऐनको व्यवस्था अनुसार अघि बढ्ने बताएका छन् ।