काठमाडौं– विगत १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न फलदायी तथा स्तरीय राष्ट्रिय कार्यक्रम आयोजना गरेर लोकप्रियता कमाउन सफल अल नेपाल पब्लिकेसन ‘एएनपी’ मिडिया हाउसले चलचित्र, संगीत र फेसन क्षेत्रका स्रष्टा र सर्जकको सम्मानमा आयोजित ‘एएनपी नेशनल अवार्डस–२०२१’ कार्यक्रम सम्पन्न गरेको छ ।
विगतमा विभिन्न कार्यक्रम गर्दै आएको भए पनि स्रष्टा र सर्जकको सम्मानमा पहिलोपटक ‘एएनपी नेशनल अवार्ड–२०२१’ आयोजना गरेको संस्थाका अध्यक्ष लबबहादुर कार्कीले जानकारी गराए । १५ कात्तिकमा राजधानीको बत्तीसपुतलीस्थित तीनतारे होटल इम्पेरियलमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशील स्रष्टा र सर्जकलाई सम्मान गरिएको थियो भने चलचित्र, संगीत र फेसनको क्षेत्रमा विभिन्न विधामा अवार्ड प्रदान गरियो ।
कार्यक्रममा उत्कृष्ट मेकअप आर्टिष्ट र फेशन विधातर्फ सौन्दर्यविद् गीता शाहले ‘एएनपी नेशनल अवार्ड–२०२१’ प्राप्त गर्न सफल भएकी छन् । सौन्दर्यविद् शाह लामो समयदेखि मेकअप र फेशनको क्षेत्रमा सकृय छिन् । कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नायक भुवन केसी, अभिनेता सरोज खनाललगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।