
म्याग्दी– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विपन्न समुदायका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन विधेयक कार्यविधि अन्तिम चरणमा पुगेको बताएका छन् । मंगलबार प्रेस सेन्टर म्याग्दीको चौँथो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले विद्यार्थीको सहायताका लागि मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम ल्याउन लागेको बताए । उनले भने, ‘विपन्न समुदायका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन विधेयकमार्फत ल्याएको पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि अन्तिम चरणमा पुगेको छ ।’
उनले पढ्दै कमाउँदै, राष्ट्रपति शैक्षिक सुधार र भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणमा मन्त्रालयले प्राथमिकता दिएकोले कार्यविधि अन्तिम चरणमा पुगेको बताए । उनले भूकम्प प्रभावित ३१ जिल्लामा चलिरहेको विद्यालय भवन पुनर्निर्माण कार्यक्रमलाई पूर्णता दिन मन्त्रिपरिषद् बैठकले आवश्यक जनशक्तिको दरबन्दी स्वीकृत गरेकोसमेत जानकारी गराए ।
मन्त्री पौडेलले संघीय शिक्षा ऐन ल्याउन अध्ययन र सत्ता साझेदार दलहरूबीच छलफल चलिरहेको जनाउँदै सरकारले तत्काल गर्नुपर्ने कामहरूलाई प्राथमिकीकरण गरेर तीनमहिने कार्ययोजना बनाउन लागेको बताए । उनले अस्थायी शिक्षकको माग सम्बोधनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउँदै शिक्षक सेवा आयोगले थप सत्र हजार शिक्षकको पदपूर्ति गर्न प्रक्रिया थालेको र नियमावली संशोधन गर्न संसदीय समितिमा प्रस्ताव गरिएको बताए ।
मन्त्री पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको पनि बताए । उनले विकास र सुशासनका लागि पत्रकारिता क्षेत्र बलियो भएमा प्रेस स्वतन्त्रता र पत्रकारिताको विकासमा सरकार ले सहयोग गर्ने बताए । उनले म्याग्दीको विकासका साथै जलविद्युत्, पर्यटन, कृषि, पशुपालन क्षेत्रमा रहेको सम्भावना तथा समस्या उजागर गरी समाधानका उपाय पहिल्याउन पत्रकारितामार्फत भूमिका निर्वाह गर्न सुझाव दिए । म्याग्दीलगायत समग्र धौलागिरि क्षेत्रको विकासमा आफ्नो तहबाट प्राथमिकताका साथ सक्रिय रहने विचार व्यक्त गरे ।