काठमाडौं – आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत न्यूूजिल्यान्डले स्कटल्यान्डमाथि १६ रनको संघर्षपूर्ण जित निकालेको छ । सुपर १२ को समूह २ अन्तर्गत अबुधावीमा बुधबार भएको खेलमा १ सय ७३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन मात्र जोड्न सक्यो । स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक ४२ रन जोडे । म्याथ्यू क्रसले २६ रनको योगदान गरे । जर्ज मुन्सीले २२ रन जोड्दा रिच्ची बेरिङटन २० रनमा आउट भए ।
न्यूजिल्यान्डका ट्रेंट बोल्ट र इश सोधीले समान २–२ विकेट लिए । टिम साउथीले एक विकेट हात पारे । यस अघि पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।
न्यूजिल्यान्डका लागि ओपनर मार्टिन गुप्टिलले ९३ रनको शानदार इनिङ्स खेले । उनले ५६ बलमा ६ चौका र ७ छक्काको मदतले सो रन बनाएका हुन् । ग्लेन फिलिप्स ३३ रनमा आउट भए । डेरिल मिसेलले १३ रन जोडे । स्कटल्यान्डका ब्राड व्हील र सफयान शरीफले समान २–२ विकेट लिए । मार्क वाटले १ विकेट हात पारे ।
तीन खेल खेलेको न्यूजिल्यान्डको यो दोस्रो जित हो । जितसंँगै न्यूजिल्यान्डले सेमिफाइनलको सम्भावना कायमै राखेको छ । यस अघि पाकिस्तानसँग पराजित भएपछि न्यूजिल्यान्डले भारतमाथि जित निकालेको थियो । स्कटल्यान्डको यो लगातार तेस्रो पराजय हो ।