काठमाडौं– महानायक राजेश हमालले तीनदशक लामो अभिनय करियरमा पहिलोपटक गीत गाएका छन् । उनले गाएको गीत ‘मन बुढो भएन’ बुधबार सार्वजनिक गरिएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा हमालले पहिलोपटक गाएको गीत सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा हमाललाई गायक सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलले साथ दिएका छन् ।
हमालले गाएको गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ । देवेन्द्र पाण्डेले निर्देशन गरेको यस गीतको भिडिओमा हमालसँग रेश्मा घिमिरेले अभिनय गरेकी छन् । उत्सव दाहालले छायांकन गरेको भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन् । कार्यक्रममा सुपरस्टार हमालले केही फिल्मका गीतमा आवाज दिएको भएता पनि सुरमा रहेर गाएको यो नै पहिलो भएको बताएका छन् । संगीतकार दीपक शर्माले दिएको हौसलाले आफूले यो गीत गाउन सफल रहेको उनको जिकिर थियो । कार्यक्रममा हमालले आफ्नो स्कुले जीवनमा गाउने गीत सम्झना गरे । ‘विद्यालयमा संगीतको कक्षा हुँदा म अगाडिको सिटमा बस्थेँ । त्यो बेला सर, मिसहरूले मलाई गीत गाउनका लागि भन्नुहुन्थ्यो र म गीत गाउँथे । मैले कक्षा ५, ६ मा पढ्दा राम्रै गीत गाउँथे । तर, त्यसपछि के कारणले हो गीत गाउनै सकिएन,’ उनले भने । कुनै संगीतकारले विश्वास गरे आफू अन्य गीत गाउन तयार रहेको पनि उनले बताए ।
गीतको शीर्षक सम्बन्धित प्रश्नमा हमालले आफूलाई जिस्क्याउने गीत बनेको बताए । ‘उमेर आफ्नो रफ्तारमा गइरहे पनि मन बुढो भने कहिल्यै हुँदैन । यो गीतको पोस्टर शेयर गरेपछि उमेर धेरै भएका शुभचिन्तकहरूले हौसला मिलेको बताउनुभयो । मलाई पनि लाग्छ मन बुढो कहिल्यै हुँदैन,’ उनले भने, ‘आफ्नो उमेर घटाएर कहिल्यै घट्दैन तर उमेरभन्दा बढी नदेखिन आफ्नो जीवनशैली मिलाउनै पर्छ ।’
अभीनेत्री रेश्मा घिमिरेले हमालसँग काम गरिसकेपछि आफ्नो जीवन मोडिएको बताइन् । भनिन्, ‘यदि मैले उहाँको जस्तै जीवनशैलीलाई लगातार अँगाल्न सकेँ भने मैले राम्रो जीवन बाँच्नेछु ।’ एक दिनमा नै आफूले हमालबाट धेरै कुरा सिकेको उनले बताइन् । संगीतकार दीपक शर्माले राजेश हमालको स्वरबाट आफू प्रसन्न रहेको बताए । हमालसँग काम गर्न पाउनु अवसर र चुनौती दुवै रहेको उनको भनाइ छ । यस अघि हमालसँग चारवटा म्युजिक भिडियोमा काम गरिसकेका निर्देशक देवेन्द्र पाण्डेले हमाललाई यो गीतमा अरुभन्दा फरक तरिकाले अभिनय गराएको बताएका छन् ।