काठमाडौं– अमेरिकामा निर्माण गरिएको नेपाली फिल्म ‘ओभर डोज’को प्रदर्शन मिति (रिलिज डेट) सार्वजनिक गरिएको छ । निर्माण टिमले बुधबार फिल्म आगामी १७ मंसिरमा रिलिज गर्ने घोषणा गदै फस्र्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । प्रनिश राज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नरलगायतका कलाकारको मुख्य अभिनय रहेको यो फिल्मलाई सुमन पौडेलले निर्देशन र जीवन कुमार केसीले निर्माण गरेका हुन् ।
दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रालिको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा प्रेम, रोमान्स, कमेडी, सस्पेन्स र एक्सनलाई समेटिएको निर्देशक पौडेलले बताएका छन् । युवापुस्ताको रुचिलाई ध्यानमा राखेर युवापुस्ताकै कथामा फिल्म निर्माण गरेको उनको भनाइ छ । यस फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाइको छायांकन रहेको छ । ‘ओभर डोज’ रिलिजको अर्को उद्देश्य कोरोना महामारीले धरासायी भएको फिल्म क्षेत्र चलायमान गराउनु रहेको निर्माता केसीले बताएका छन् । यो फिल्मले दर्शकलाई निराश नबनाउने उनको दाबी छ । कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार र जुनियर मोरेनो हुन् । फिल्मलाई जि.जि ग्रुपले उपत्यका र एफडि कम्पनीले मोफसलमा वितरण गर्नेछ ।
कठपुतलीको डरलाग्दो मोशन पोस्टर
हरर फिल्म ‘कठपुतली’ को मोशन पोस्टर सार्वजनिक गरिएको छ । ‘हलोविन’ को अवसर पारेर मंगलबार निर्माण टिमले सार्वजनिक गरेको मोशन पोस्टर डरलाग्दो छ । पोस्टरमा प्रयोग गरिएको ब्याकग्राउन्ड स्कोरले थ्रिल गराउँछ । पृष्ठभूमिमा एक महिलाको चर्को र डरलाग्दो आवाज पनि सुन्न सकिन्छ । मोशन पोस्टरले दर्शकलाई फिल्मप्रति कौतुहलता जगाउने निर्माण टिमको अपेक्षा छ ।
गत महिना मात्र अमेरिकाको प्रतिष्ठित इन्टरनेसनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको यो फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापालगायतको अभिनय छ ।
निर्माण टिमले फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन । यो फिल्मलाई पुस–माघसम्म प्रदर्शन गर्ने तयारी गरिएको निर्माता पृथ्वी राना मगरले बताए । फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक भिमसेन लामाको दाबी छ । उनी यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट भएको बताएका छन् । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टुडियोमा भएको यो फिल्म ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’ मा पनि छानिएको छ ।