काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दसौँ राष्ट्रिय महाधिवेशनमा नेकपा एकीकृत समाजवादी पार्टीलाई आमन्त्रण नगर्ने भएको छ । एमालेले आफूबाट विभाजित भई बनेको एकीकृत समाजवादीलाई ‘सौताको व्यवहार’ गर्ने भएको हो । आगामी १० देखि १२ सम्म चितवनमा हुन लागेको महाधिवेशनमा एमालेले देशभित्रका प्रमुख राजनीतिक दल र विदेशी पाहुनाहरूलाईसमेत आमन्त्रण गरेको छ । तर, एमालेकै तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई आमन्त्रण नगर्ने प्रष्ट पारेको छ । निर्वाचन आयोगले दलको मान्यता दिइसके पनि एमालेले एकीकृत समाजवादीको अस्तित्व स्वीकार गरिरहेको छैन । एमालेले नेपालसहितका सांसदहरूलाई कारबाहीको माग गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा पनि अवरुद्ध पारेको थियो ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको जानकारी दिएका छन् । एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा आइक्यापका (आइसिएपिपी) का स्थायी कमिटीका सदस्यहरूलाई पनि निमन्त्रणा गरिएको उनले बताए । कार्यक्रममा मुलुकका राष्ट्रिय राजनीतिक दलका प्रमुखलाई पनि निमन्त्रणा गरिने उनले बताएका छन् । निमन्त्रणा गरिएका विदेशस्थित पार्टीबाट सकारात्मक सन्देश प्राप्त भएको जनाउँदै उनले नेपालस्थित कूटनीतिक निकायका प्रमुखलाई पनि निमन्त्रणा गरिएको र राष्ट्रिय पार्टीलाई निमन्त्रणा गरिए पनि एकीकृत समाजवादीलाई भने आमन्त्रण नगरिएको उनले प्रष्ट पारे ।
प्रमुख भट्टराईले नेकपा एकीकृत समाजवादी पार्टी अवैध सम्बन्धबाट जन्मिएको पार्टी भएकाले महाधिवेशनमा आमन्त्रण नगरिएको बताएका छन् । ‘नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई निमन्त्रण दिने कुरामा एकीकृत समाजवादीको पनि पत्रकार साथीले नाम लिनुभयो, प्रमुख राजनीतिक दलहरूलाई हामीले निमन्त्रणा गर्ने हो,’ उनले भने, ‘कतिपय राजनीतिक दलको पहिचान र ठेगाना नै स्पष्ट छैन, अवैध सम्बन्ध, अवैध गर्भधारणबाट बनेका पार्टीहरू छन्, त्यस्ता पार्टीहरूलाई महाधिवेशनमा बोलाइरहनुपर्छ जस्तो लाग्दैन, पहिचान र ठेगाना स्पष्ट भएका प्रमुख राजनीतिक दलहरूलाई यो महाधिवेशनमा आमन्त्रण गरिनेछ ।’
नेपालको मध्यभाग र पर्यटकीय गन्तव्यमा मानिने चितवनमा हुने महाधिवेशनले मुलुकको राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशा दिने पार्टीका सचिव भट्टराईले दाबी गरेका छन् । १० मंसिरमा भरतपुरस्थित नारायणी नदीको मैदानमा जनसमुदायको उपस्थितिमा पार्टीका अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । उद्घाटनस्थलमा अहिले सम्याउने र खाल्डाखुल्डी पुर्नेलगायत काम भइरहेको छ भने बन्दसत्र सौराहास्थित हात्तीसारमा गर्ने गरी संरचना निर्माण गरिएको उनले जानकारी दिए । प्रतिनिधिलाई बसोबासका लागि सौराहास्थित होटलमा व्यवस्था गरिएको छ ।
सचिव भट्टराईले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेकाले पार्टीलाई महाधिवेशनले थप एकताबद्ध र सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले भने, ‘प्रस्तुति र जोडकोणमा नेताहरूका केही भिन्नता होलान् र आमरूपमा पार्टीको विचार, नीति र विधानका सम्बन्धमा अब कुनै अन्योल छैन ।’ पत्रकारको जिज्ञासाका क्रममा नेता भट्टराईले एमाले मुलुकको लोकतान्त्रिक आन्दोलन र उपलब्धिको प्रमुख हिस्सेदार रहेको उल्लेख गर्दै वर्तमान सत्ता गठबन्धनले लोकतन्त्र र संविधानको सही कार्यान्यनका क्रममा चुनौती खडा गरेको आरोप लगाएका छन् । गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरूमाथि हस्तक्षेप भएको बताउँदै उनले गठबन्धन सरकारले संवैधानिक अंगहरूमा स्वेच्छाचारिताको गम्भीर प्रश्न उठेको बताउँदै शक्तिहरूको स्वार्थमा देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाए ।
प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘आज मुलुकमा राजनीतिक अनिश्चयको स्थिति पैदा भएको छ, संविधान मिचिँदै छ, संवैधानिक अंगहरूमाथि कार्यपालिकाको हस्तक्षेप छ, संवैधानिक अंगहरूमा स्वेच्छाचारी प्रक्रियामार्फत गम्भीर प्रश्न उठ्न थालेको छ, यो गठबन्धन सरकार बनेपछि, देशलाई यसरी अन्योल माहोलमा राख्नुहुँदैन, अलोकतान्त्रिक, स्वेच्छाचारी, असंसदीय ढंगमार्फत राजनीतिक अस्थिरतातिर मुलुकलाई धकेल्ने प्रयत्न भइरहेको छ शक्तिहरूको स्वार्थमा ।’
एमालेले यसपटक विधान महाधिवेशन सम्पन्न गरिसकेकाले उद्घाटनपछि सिधै निर्वाचनको कार्यक्रम सुरु हुनेछ । विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार दसौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ । यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ । महाधिवेशनका प्रतिनिधिको निर्वाचन आगामी २७ कात्तिकमा देशैभरि एकसाथ हुनेछ भने, बाँकी रहेका स्थानीय तह र वडास्तरका अधिवेशन यही २५ कात्तिकभित्र सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ ।
अध्यक्ष ओलीद्वारा उद्घाटनस्थल निरीक्षण
एमालेको १०औँ महाधिवेशन उद्घाटनस्थलको अध्यक्ष ओलीले निरीक्षण गरेका छन् । बुधबार उनीसहित जिल्लाका नेता तथा कायकर्ताले महाधिवेशन उद्घाटनस्थलको स्थलगत निरीक्षण गरेका हुन् । उनले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायत विषयमा चासो व्यक्त गरेका थिए । यो ठाउँबाहेक जिल्लामा विकल्पका बारेमा पनि उनले जिज्ञासा राखेका थिए ।
सो क्रममा नेकपा केन्द्रीय सदस्य काशीनाथ अधिकारी, प्रदेशसभा सदस्य जेएन थपलिया, प्रदेश सदस्य कृष्णभक्त पोख्रेल, एमाले जिल्ला अध्यक्ष पार्वती रावललगायतले यहाँको बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए । केन्द्रीय सदस्य अधिकारीले पश्चिमबाट आउने सवारीलाई गैँडाकोटमा, पूर्वबाट आउने सवारीलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा र उत्तरतर्फबाट आउने सवारीलाई आँपटारीमा पार्किङको व्यवस्था गर्न सकिने बताएका थिए । उनले नदी किनारमा व्यवस्थापन गरेर पाँच लाख हाराहारी सहभागी हुनसक्ने जानकारी दिएका थिए ।