काठमाडौं– सुपरस्टार राजेश हमालको मुख्य भूमिका रहने फिल्म ‘सत्यम्’मा उनको जोडी तय भएको छ । करीब चार वर्षपछि ‘सत्यम्’मार्फत् कमब्याक गर्न लागेका राजेशको ओपजित बल्ल तय भएको हो । फिल्ममा राजेशको जोडीका रूपमा नीलम चन्द देखिन लागेका हुन् । फिल्ममा उनी हमालको प्रेमिकाको भूमिकामा देखिने निर्देशक शंकर कार्कीले जानकारी दिएका छन् । लामो समयदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘कल कान्तिपुर’ कार्यक्रममा भिजेको रूपमा काम गर्दै आइरहेकी नीलमले एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन् ।
‘सत्यम्’ मंसिर दोस्रो हप्ताबाट छायांकनमा निस्कने तयारीमा छ । तिहारअघि फिल्मका कलाकारहरूले धम्पुसमा दश दिनसम्म वर्कसप गरेका थिए । आफ्नो फिल्म करियरमा सुपरस्टार राजेश संभवत पहिलोपटक वर्कसपमा सहभागी भएका हुन् । यसअघि उनी सधै व्यस्त रहने गरेकाले वर्कसपमा नगई सिधै सुटिङ स्पटमा पुग्ने गरेका थिए । यस फिल्ममा राजेशसँगै पल शाह, मलिका महत, अनुपविक्रम शाही, किशन सुनार, मिलन सिजापतिको पनि मुख्य भूमिका रहनेछ ।
‘सत्यम्’ मा हमालको पूर्व श्रीमतीको भूमिकाका लागि भने अभिनेत्री निरुता सिंहलाई अफर गरिएको छ । उनी आफ्नो भूमिकालाई लिएर सकारात्मक भए पनि कागजी सम्झौता भइसकेको छैन । एक समय राजेश र निरुताको जोडी पर्दामा निकै जमेको थियो । त्यसबेला दर्शकले उनीहरूलाई वास्तवमै श्रीमान्–श्रीमती ठान्ने गर्दथे । यो जोडीलाई फेरि ठूलो पर्दामा हेर्ने दर्शकको ठूलो इच्छा छ । अभय बराल, प्रिन्स प्रसिद्द सिंह थापा, नेरिस्का स्थापित, सूजन परियारलगायतका कलाकारहरूको पनि अभिनय रहने फिल्मका निर्माता रेशम सापकोटा हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको फिल्ममा सह– र्माताहरूमा रेशम गौतम, सुवास भुर्तेल, श्याम मल्ल र कृष्ण अधिकारी छन् । अष्ट मान महर्जनको द्वन्द्व निर्देशन रहने यस फिल्ममा हमाल चार फरक लुक्स देखिनेछन् ।