काठमाडौं– हाँस्य जनराको नेपाली फिल्म ‘सिल्ली फो’ आगामी १ मंसिरदेखि पुनः छायांकनमा जाने भएको छ । पहिलो चरणमा १५ दिन छायांकन गरेर ब्रेक गरिएको ‘सिल्ली फो’को बाँकी दृश्य छायांकनको तयारी गरिएको हो । राजबहादुर सानेको लेखन तथा निर्देशनमा फिल्म ‘सिल्ली फो’ निर्माणाधीन छ ।
चार बदमासको कथामा निर्माण हुने फिल्ममा केकी अधिकारी मुख्य भूमिकामा छिन् । यो फिल्मको पहिलो चरणको छायांकन पूरा भइसकेको छ । १५ दिन खिचेर ब्रेक लिइएको फिल्मको १ मंसिरबाट दोस्रो चरणको छायांकन हुने निर्देशक सानेले बताए । फिल्मको सम्पूर्ण छायांकन बाँके क्षेत्रमा हुनेछ ।
फिल्ममा केकीका साथै राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भुगोल कार्की, रमेश बजगाइँ, सरस्वती रामजाली मगर, सागर विष्ट, कुशल बोहोरा, गोपाल विक, राजकुमार सापकोटा, छत्रेश्वरप्रसाद शर्मा लगायतका कलाकारहरूको अभिनय रहनेछ । रुद्र खनाल प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा मनोज डिके र सह–निर्मातामा विशाल श्रेष्ठ र सागर विष्ट रहेका छन् । फिल्ममा दिव्यराज सुवेदी छायांकार, पुरुषोतम न्यौपाने संगीतकार र रामजी लामिछाने कोरियोग्राफरको रूपमा छन् । ‘पर्खी बसे फर्की आउनेछु, डोली, विरांगना’जस्ता फिल्मको निर्देशन गरिसकेका सानेले ‘सिल्ली फो’ को कथा पूर्ण कमेडी रहेको बताएका छन् ।