काठमाडौं– सफल नेपाली फिल्म ‘कबड्डी ४’ ले चाँडै प्रदर्शन मिति सार्वजनिक गर्ने तयारी गरेको छ । मुस्ताङमा छायांकन भइरहेको उक्त फिल्मले चाँडै प्रदर्शन मिति सार्वजनिक गर्ने तयारी गरेको हो । पछिल्लो समय हिन्दी फिल्म ‘सूर्यवंशी’ले नेपालमा राम्रो व्यापार गरेपछि नेपाली फिल्म निर्माता तथा निर्देशकहरूसमेत फिल्म हलमा लगाउन उत्पेरित भएका हुन् ।
कोरोना महामारीका कारण करिब २ वर्ष ठप्प रहेको नेपाली फिल्म क्षेत्र तिहारमा रिलिज भएको बलिउड फिल्म ‘सूर्यवंशी’ ले चलायमान बनाएको हो ।
उक्त फिल्मले नेपाली दर्शकलाई हलसम्म तानेपछि नेपाली फिल्मकर्मीहरूमा पनि मनोबल बढेको छ । यो फिल्मले हलमा दर्शक फर्काएपछि नेपाली निर्माताहरूले आफ्नो फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालेका हुन् । सोमबार ‘चपली हाइट ३’ ले २ पुसलाई प्रदर्शन मिति घोषणा गरेको थियो ।
‘चपली हाइट ३’ पछि फिल्म ‘कबड्डी ४’ को पनि प्रदर्शन मिति घोषणा गर्ने तयारी गरिएको हो । अबको १५ दिनमा छायांकन सकेर काठमाडौं फर्किएपछि फिल्मको प्रदर्शन मिति घोषणा गरिने निर्माता मणिराम पोखरेलले जानकारी दिएका छन् । फिल्मलाई आउँदो चैत वा वैशाखमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको स्रोत बताउँछ ।
निर्माता पोखरेलका अनुसार, फिल्मको ५० प्रतिशत छायांकन पूरा भइसकेको छ । फिल्मको सेटबाट निर्माण टिमले एक तस्विर सार्वजनिक गरेको छ । जसमा दयाहाङ राई, बुद्धि तामाङ र विजय बराल देखिएका छन् । रामबाबु गरुङले निर्देशन गरिरहेको फिल्ममा सौगात मल्ल, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको अभिनय रहेको छ ।
बासुरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्मको कथा निर्देशक गरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर तयार पारेका हुन् । फिल्मको निर्मातामा मणीराम पोखरेल, अर्ज‘न कार्की र ओमचन्द्र रौनियार छन् भने निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि. कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । यो फिल्मलाई ‘कबड्डी’ को ‘फाइनल म्याच’ अर्थात् अन्तिम सिरिज भनिएको छ ।