काठमाडौं– ‘टिकटक’मा केन्द्रित रहेर टेलिभिजन रियालिटी शोको गरिएको छ । शिखर नेपाल प्रा.लि.ले आयोजना गर्ने शोको नाम ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो ०७८’ राखिएको छ । अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने शो को बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
नेपाली फिल्म क्षेत्रका चर्चित कलाकारहरू गौरी मल्ल, रमेश उप्रेती तथा वर्षा सिवाकोटी शोको निर्णायकका रूपमा रहेका छन् । टिकटकको प्रयोग पनि सही र राम्रा कामका लागि हुन सक्छ भन्ने मान्यता राखेरै शोको निर्णयक हुन आफूहरू तयार भएको उनीहरूको भनाइ छ ।
प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाइकल र तेस्रोलाई स्कुटर उपहारसँगै टप १० भित्र पर्ने प्रतिष्पर्धीहरूलाई समेत कम्प्युटर, क्यामेरा, टि.भि. फ्रिज, मोवाइल, घडीलगायतका उपहार दिने शोका निर्देशक हरि शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।
नाइस टेलिभिजन एचडीबाट प्रशारणमा आउने शोमा टेकप्रसाद बास्तोला निर्माताका रूपमा रहेका छन् । गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडियो १५ सेकेण्डदेखि ३ मिनेटसम्मको हुनुपर्नेछ भने अनलाइन अडिसनको समय मंसिर मसान्तसम्म आह्वान गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकारहरूलाई समेत शिखर सम्मान प्रदान गरिएको छ । सदाबहार अभिनेता भुवन केसी, लोकप्रिय अभिनेता सरोज खनाल, वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दीप अर्याल, साहित्यकार भीष्मराज फुलारा तथा सञ्चारकर्मी सुदर्शन प्रसाद आचार्यलाई ‘शिखर सम्मान ०७८’ द्वारा सम्मान गरिएको थियो ।