
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्षमाथिका बालिबालिकालाई कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ को पहिलो मात्रा यही २८ कात्तिकदेखि लगाउन सुरु गर्ने भएको छ । आगामी ४ मंसिरसम्म खोप लगाउने तालिका तय गरिएको मन्त्रायले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार दीर्घरोगीलाई लक्षित गरी २८ कात्तिकदेखि खोप अभियान सञ्चालन गरिने छ । अमेरिकाले उपलब्ध गराएको एक लाख ६२० मात्राको फाइजर खोप १२ वर्ष उमेर माथिका दीर्घरोगी बालबालिकालाई लगाइनेछ ।
मन्त्रालयले दीर्घरोग भएका १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्र दिने जनाएको छ । खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचार सम्बन्धी पूर्जा लिएर जान भनिएको छ । खोप मन्त्रालयले देशभरिका विभिन्न २४ वटा अस्पतालबाट लगाउने भएको छ । यी दीर्घरोगीले खोप लगाउन पाउँछन् । मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकालाई फाइजर खोप दिइने छ ।
यस्तै, रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिकका रक्तनली सम्बन्धी रोग भएकालाई पनि फाइजर खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले जानकारी दिए । उनका अनुसार फाइजर खोप सुरक्षित र प्रभावकारी रहेको तथा खोपको दुवै मात्रा लगाएमा ९५ प्रतिशतसम्म प्रभाकारी हुने अध्ययनले देखाएको छ । फाइजर खोप २१ देखि २८ दिनको बीचमा दुई मात्रा लगाइसक्नुपर्ने हुन्छ । फाइजर खोपको दोस्रो मात्रा २७ मंसिरदेखि २ पुससम्म सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् । यस्तै प्रदेश १, २ र लुम्बिनी प्रदेशका ३÷३ अस्पताल, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका २÷२ अस्पताल र गण्डकी प्रदेशमा एक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा रहेका वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् । यस्तै प्रदेश १ का मेची प्रादेशिक अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । यस्तै, प्रदेश २ का गजेन्दनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट खोप दिइने छ ।
वाग्मती प्रदेशको चितवनको भरतपुरस्थित बिपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेलस्थित धुलिखेल अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् । यस्तै, गण्डकी प्रदेशमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाग्लुङस्थित धौलागिरि अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् भने लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् । सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अमरगढीस्थित डडेल्धुरा अस्पताल तथा कर्णाली प्रदेशमा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।