नेपालगञ्ज/कञ्चनपुर जिल्लाकी निर्मला पन्तको बलात्कार पश्चात निर्मम हत्या गरिएको उेढ महिना व्यतित भईसक्दा समेत अपराधीलाई कानुनको दायरामा ल्याउन नसकिएको बिरोधमा नेपालगञ्जमा भाद्र ३० गते प्रदर्शन गरिएकोछ ।
निर्मलाका निम्ति न्याय अभियानको आह्वानमा उक्त प्रदर्शन भएको हो । प्लेकार्ड सहित उपस्थित भएका बाँके स्थित नागरिक समाजका अगुवाहरुले आँखामा पट्टि बाँधि बिरोध प्रदर्शन गरेका छन् ।
न्यायको खडेरी परेको भन्दै प्रतिकात्मक रुपमा आँखामा पट्टि बाँधि बिरोध प्रर्दशन गरिएको आयोजकहरुले जनाएका छन् ।
बिरोध कार्यक्रमलाई बिरोध प्रर्दशनको संयोजन गरेका गैसस महासँघ बाँकेका सचिव तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह र नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैसस महासँघ बाँकेका सचिव तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहले दिनदहाडै चेलीहरु बलात्कृत हुनु, उनीहरुको हत्या हुनु र पीडितहरुले न्याय नपाउनु बिडम्बना भएको बताए । शाहले निर्मला जस्ता चेलीहरुको बलात्कार पछि हत्या हुनु, प्रहरीको छानविन गोलमटोल हुनु, न्यायका लागि सडकमा आएका जनता माथि गोली बर्षाउनु कानुनी राज्यको उपहास भएको बताए । नागरिकको शुरक्षाको जिम्मा लिएको स्वयं प्रहरीका अधिकारीहरु यस्ता घटनामा शँकाको घेरामा तानिनु दुःखद भएको शाहले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले महिलाहरु माथिको श्रृंखलाबद्ध हिँसा असह्यै भएको बताए । उनले देशैभर जघन्य अपराधहरु हुँदा पनि पीडकलाई कार्वाही नहुनु दुःखद भएको बताईन् । उनले सरकार गैर जिम्मेवार हुँदा यस्ता घटनाहरु घटिरहेको बताईन् ।
३०० बढि नागरिकहरुको उपस्थितीमा सम्पन्न कार्यक्रमका सहभागिहरुले निर्मला पन्त लगाएतका यौन हिंसामा परेका घटनाहरुमा यथासिघ्र दोषी पत्ता लगाई हदैसम्मको सजाय दिलाउन, पीडितलाई न्यायको अनुभूति दिलाउन र प्रत्येक महिलाको सुरक्षाको उचित प्रबन्ध गर्न गराउन नेपाल सरकार लगायत सम्बन्धित निकाय र अधिकारीको ध्यानाकर्षण गराएकाछन् ।
यौन हिंसामा परेका महिला र पीडित परिवारलाई न्याय नदिलाए सम्म र बास्तविक पीडकलाई कानुनको दायरामा नल्याए सम्म सशक्त रुपमा अगाडी बढ्ने आयोजक मध्येका एक नमस्कार शाहले बताए । उनका अनुसार, आईतबार बिहान १०.०० बजे जिल्ला प्रशासन कार्यालय बाँके अगाडी जम्मा भई सिट्टि बजाएर बिरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।