
काठमाडौं– नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले सञ्चार माध्यम समावेशी हुनु पर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित तामाङ पत्रकार संघ काठमाडौं समितिको तेस्रो अधिवेशन तथा काठमाडौं मिडिया अवार्ड वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष विष्टले यस्तो बताएका हुन् ।
वरिष्ठ उपाध्यक्ष विष्टले सम्पूर्ण सञ्चार गृहको समाचार शाखा समावेशी हुनु पर्ने भन्दै यसका लागि तामाङ पत्रकार संघले मुल धारको सञ्चार माध्यममा पहुँच विस्तार गर्न सक्नु पर्ने बताए । तामाङ कला, संस्कृति परम्पराको जगेर्ना गर्नका लागि पनि यो संघले सशक्त भूमिका खेल्नु पर्ने उनले बताएका छन् । क्षेत्र, वर्ग र समाजको प्रतिनिधित्व गराउँदै मुल धारको खम्बाको रूपमा काम गर्न सक्नु पर्ने उनको भनाइ थियो । त्यसका लागि महासंघको तर्फबाट गर्नु पर्ने सहयोग रहेने उनले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै महासंघका काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले पत्रकारिता गरिब, विपन्न र पछडिएका नागरिकका लागि हुनु पर्ने बताएका छन् । आवाजविहीनहरूको आवाज हुन सक्नु पर्ने उनले बताए । तामाङ पत्रकार संघ स्थानिय तहसम्म पुग्नु पर्ने र पत्रकार पनि सक्षम हुनु पर्ने उनको भनाइ थियो । तामाङलाई मात्रभन्दा पनि सबैलाई जोडेर अगाडि बढ्न उनले आग्रह गरे । भाषाविद् अमृत योन्जन तामाङले यो समुदायका विषयहरू कम मात्रै समाचारमा आउने गरेको भन्दै यसतर्फ लाग्नु पर्ने बताएका छन् । तामाङहरूको इतिहास खोतल्नु पर्ने र त्यसको प्रचार प्रसारमा पत्रकारको महत्वपूर्ण भूमिका हुने उनले बताए । सुरुमा कम भए पनि अहिले यो समुदायका प्रशस्त पत्रकार रहेको भन्दै तामाङ कला संस्कृतिका विषयमा सञ्चार माध्यममा ल्याउनु पर्ने उनको तर्क थियो ।
तामाङ पत्रकार संघका केन्द्रीय अध्यक्ष विष्णु तामाङले संस्थाका उद्देश्यको बारेमा प्रष्ट पारेका थिए । संघले तमाङ पत्रकारलाई संगठित बनाएर उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको उनले बताए । अहिले तमाङ पत्रकार संघ २० जिल्लामा विस्तार भएको पनि उनले जानकारी दिए । वागमती प्रदेशका सबै जिल्ला, प्रदेश नम्बर १ का ६ जिल्ला र प्रदेशक २ को एक जिल्लामा शाखा विस्तार गरिएको बताइएको छ ।
वर्तमान र पूर्वअध्यक्षहरू सम्मानित
यसैबीच, सोही कार्यक्रममा तामाङ पत्रकार संघका पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको छ । संघका संस्थापक अध्यक्ष रविन्द्र तामाङ पूर्वअध्यक्षहरू रुद्रसिंह तामाङ, पतिक तामाङ, दीपेन्द्र लामा, जगत दोङ तामाङ र वर्तमान अध्यक्ष विष्णु तामाङलाई सम्मान गरिएको हो । संघलाई पुर्याएको सहयोगको पशांसासहित कार्यक्रममा उनीहरूलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
सर्वसम्मत नेतृत्व चयन
यसैबीच, तामाङ पत्रकार संघ काठमाडौं जिल्ला कार्य समिति सन्तोष योन्जन तामाङको अध्यक्षतामा सर्वसम्मत रूपमा चयन भएको छ । बुधबार भएको तेस्रो अधिवेशनले तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा सोम्फे तामाङ चयन भएका छन् भने हिरोज लोप्चन सचिवमा चयन भएका छन् । त्यस्तै सह– सचिव कार्यसमितिले पछि मनोनयन गर्ने बताइएको छ । कोषाध्यक्षको जिम्मेवारी सिर्जना तामाङले पाएकी छन् । त्यस्तै सदस्यहरूमा डुक्पा छिरिङ मोक्तान, जनक तामाङ, मनीषा लो तामाङ, किशोरी लामा र सृष्टि तामाङ सर्वसम्मत चयन भएका छन् । त्यस्तै एक जना सदस्य पनि पछि कार्यसमितिले मनोनय गर्ने बताइएको छ ।
तीन जनालाई अवार्ड
त्यस्तै काठमाडौं मिडिया अवार्ड तीन जनालाई प्रदान गरिएको छ । रेडियो, छापा र अनलाई विधामा अवार्ड वितरण गरिएको तामाङ पत्रकार संघ जिल्ला कार्यसमिति काठमाडौंले जनाएको छ । अवार्ड पाउनेमा रेडियोतर्फ विष्णु दोङ तामाङ, छापातर्फ सुशीला लामा र अनलाइनतर्फ दिलबहादुर लामा रहेका छन् । उनीहरू तीनै जनालाई प्रमाण पत्र, ट्रफी र नगद ७–७ हजार रूपैयाँ प्रदान गरिएको छ ।