
काठमाडौं– १२औँ राष्ट्रिय जनगणना बिहीबारदेखि सुरु हुँदै छ । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्यांक विभागले देशभर एकैपटक गणकहरू खटाएर जनगणना गर्न लागेको हो । प्रत्येक घर–घरमा पुगेर गणकहरूले जनगणना गर्नेछन् । यसपटक कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गर्ने तयारी छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि सुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् ।
राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको सुरुआत गरिने भएको छ । यसका लागि गणकहरू बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि गणकहरू बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन कहाँ पुग्ने भएका छन् । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । यसअघि सूचीकृत घरमा पुगेर गणकहरूले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न सोध्ने छन् । एक परिवारमा औसत एक जना गणकले २० मिनेट लगाउने उनले जानकारी दिए । जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर ८ हजार ५ सय जना गणक खटिएका छन् । उनीहरूलाइ दिने सबै प्रकारको तालिम पूरा भएको महानिर्देशक श्रेष्ठले जानकारी दिए । यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याब्लेट कम्प्युटरको प्रयोग गरिने छ । कुल २ हजार २५० वटा ट्याब्लेट प्रयोग हुने विभागले जनाएको छ ।
एक परिवारलाई प्रश्नावली भर्नाका लागि औसतमा २० मिनेट समय लाग्ने बताइएको छ । यस क्रममा देशभरका छ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी संकलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने महानिर्देशक श्रेष्ठले बताए । जनगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने भन्दै श्रेष्ठले सबैलाई ढुक्क भएर भाग लिन आग्रह गरेका छन् । जनगणनामा भाग लिनु कर्तव्यसमेत भएको भन्दै उनले कसैले पनि नाइँ भन्न नपाउने उनले बताए । एक जना गणकले औसतमा १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने छ । जनगणनाको तथ्यांक संकलन १५ दिनभित्रै सक्नुपर्ने श्रेष्ठले बताएका छन् । अहिले संकलन गरिएको तथ्यांक प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । संकलित तथ्यांक मंसिर मसान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी छ ।
भारतसँग कूटनीतिक पहल
विभागका निर्देशक श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक तबरबाट पहल भइरहेको बताएका छन् । उनले यदि भारतले जनगणना गर्न नदिएमा स्याटलाइट प्रविधिबाट घरधुरी गणना गरी त्यसका आधारमा पनि जनगणना गर्न सकिने जानकारी दिए । यसपटक विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा इ–सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण संकलन गर्न लागिएको उनले जानकारी दिए ।