काठमाडौं — अखिल नेपाल फुटबल संघले आइतबारबाट सुरु हुने भनिएको शहिद स्मारक ए डिभिजन लिग मंसिर ३ गतेबाट मात्र सुरु हुने जनाएको छ । एन्फा मुख्यालयमा आयोजित एक कार्यक्रममा एन्फाले लिग केही दिन पर धकेलिएको जनाएको छ ।
एन्फाले क्लबहरूसँगको छलफलपछि लिगका खेलहरू सातामा तीन दिन (शुक्रबार, शनिबार र आइतबार) मात्र खेलाउने समेत जनाएको छ । यससँगै लिगको खेल तालिकामा समेत परिवर्तन आउने भएको छ । यसअघि कार्तिक २९ गते साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच खेल हुने तालिका थियो ।
मनाङ र संकटा बराबरीमा
प्रि–सिजनको मैत्रीपूर्ण खेलमा मनाङ मर्स्याङदी फुटबल क्लब र संकटा क्लबले बराबरी खेलेका छन् । एन्फा कम्पलेक्स सात्तोबाटोमा बिहिबार भएको खेलमा मनाङ र संकटाले २–२ गोलको बराबरी खेलेका हुन् । मंसिर ३ गतेबाट हुने नयाँ सिजनको ए डिभिजन लिगलाई लिएर तयारीस्वरूप मनाङ र सकटाले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
खेलमा मनाङका लागि अञ्जन विष्ट र आफिज ओला डिपोले एक एक गोल गरेका थिए । यता संकटाका लागि उत्तम राईले दुबै गोल गरे । लिगको तयारीका लागि सहभागि टिमहरूले अहिले मैत्रीपूर्ण खेल खेलिरहेका छन् ।