काठमाडौं– बनेपा नगरपालिकाको भैँसेपाटीमा निर्माण हुने अत्याधुनिक चलचित्र छायांकनस्थल (स्टुडियो)को निर्माणार्थ आवश्यक प्रक्रिया पूरा भएको छ । यसका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए)लगायत आवश्यक तयारी पूरा भई निर्माणको प्रक्रिया अघि बढाएको चलचित्र विकास बोर्डले जनाएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको १० र १३ नं वडा सीमास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणका लागि आवश्यक प्रशासनिक तयारी पूरा भई भौतिक निर्माणको प्रक्रियागत काम सुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए ।
उनका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायांकन स्टुडियो निर्माण हुनेछ । इन्डोरमा अस्पताल, प्रहरीचौकी, कारागार, ठूला भवनका भित्री भागदेखिने खालका तथो प्रोटेबल सेट निर्माण गरिने अध्यक्ष दाहालको भनाइ छ । आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नका लागि चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशन कक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण हुने योजना बनाइएको छ ।
स्टुडियो निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनलगायत आवश्यक प्रशासनिक कार्यका लागि रु. दुई करोड बजेट विनियोजन भएको सांसद गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् । चलचित्र छायांकन स्टुडियोका लागि भैँसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको छ । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायांकन स्टुडियोको डिपिआर बनाइ काम सुरु गरिने जनाइएको छ ।