
काठमाडौं– काठमाडौं उपत्यकामा खानेपानीको माग आपूर्तिका लागि वैकल्पिक उपायबारे अध्ययन सुरु भएको छ । मेचम्ची खानेपानी आयोजनाको सुरुङ मर्मतका लागि समय लाग्ने देखिएपछि सरकारले उपत्यकामा खानेपानी आपूर्तिका लागि थप स्रोतको खोजी सुरु गरेको हो । काठमाडौं उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको स्रोतले जानकारी दिएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ ।
काठमाडौं उपत्यकामा खानेपानीको माग अधिक रहे पनि आपूर्ति थोरै मात्र भइरहेको छ । गत चैतमा मेलम्चीको खानेपानी परीक्षणका लागि उपत्यकामा खसालिए पनि आवश्यक मर्मतका लागि बन्द गरिएको थियो । मेलम्चीको पानी वितरण बन्द रहेको समयमा गत १ असारमा आएको बाढीले आयोजनाका सुरुङसहित अन्य भौतिक संरचनामा क्षति पु¥याएपछि खानेपानीको अभाव फेरि सुरु भएको हो । खानेपानीको अभाव पूर्तिका लागि उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो । मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताएका छन् ।
उनका अनुसार अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको छ । पुराना ट््युववेल संरक्षण गर्न थालिएको छ । उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने उनले बताए । उपत्यकामा कतिपय स्थानका सेवाग्राहीले आफ्नो घरमा पानी नआएको भनी गुनासो गर्दै आएका छन् । उनले भने, ‘ती स्थानमा पनि ट्यांकरबाट सार्वजनिक ट््यांकीमा भरेर सुख्खा व्यवस्थापन गरिनेछ ।’
लिमिटेडले उपत्यकाभित्रै खानेपानीको क्षमता बढाउन १० स्थानमा ट्युववेल खन्न लागेको छ । भइरहेका मुहान बढाउँदा र डिप ट््यववेल गरी हाल भइरहेको पानीमा एक करोड लिटर थप हुनेछ । हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । वर्षामा झण्डै १७ करोड र हिउँदमा त्योभन्दा कम उपलब्ध गराउन सकिएको लिमिटेडले जनाएको छ । हिउँद लागेसँगै अहिले पानीको उपलब्धता घटेर दैनिक आठदेखि नौ करोड लिटर पानी वितरण भइरहेको छ ।
लिमिटेडअन्तर्गत सम्बन्धित शाखाले आफ्नो क्षेत्रमा कुनकुन बार र कति बजे पानी वितरण गरिने भनी फेसबुक पेजबाट तालिका राख्ने गरेको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वैकल्पिक पानीको स्रोतको पनि अध्ययन गरिरहेको छ । सिस्नेरी, कुलेखानीलगायतका पानीको स्रोतको पनि सम्भाव्यता अध्ययन भइरहेको छ । लिमिटेडले उपत्यकामा जग्गा उपलब्ध हुनसक्ने ठाउँमा डिप वेल निर्माण गरिरहेको छ । सानेपा–बल्खुमा एउटा निर्माण सकिएको छ भने गोकर्ण, भक्तपुरलगायतका ठाउँमा निर्माण भइरहेको छ । स्थानीय तहले सार्वजनिक जग्गा उपलब्ध गराउँदा अध्ययन गरेर सम्भावना भएमा खन्ने गरिएको छ ।
काठमाडौं उपत्यकामा दशकौंदेखि खानेपानीको समस्या छ । पानीको समस्या हटाउन मेलम्चीको पानी ल्याउन लागिएको थियो । मेलम्चीमा भएको दुर्घटनाका कारण पानी आउन रोकिएपछि पुनः समस्या बढेको छ । अझ हिउँदमा उपत्यकामा पानीको समस्या बढ्ने गर्दछ । काठमाडौं उपत्यकामा दैनिक खानेपानीको माग ४१ करोड लाख ५० करोड लिटर छ । केयुकेएलले दैनिक करिब १० करोड ७२ लिटर पानी वितरण गर्दै आएको छ । १० करोड ७२ लाख लिटरमध्ये २० प्रतिशत पानी चुहावटमै सकिने केयुकेएलको जनाएको छ । केयुकेएलले २ लाख १८ हजार २ सय ९१ घरघुरीमा पानी उपलब्ध गराउँदै आएको छ ।
उपत्यकामा ट्यांकरमार्फत दैनिक पाँच करोड लिटर पानी किनबेच हुने गरेको छ । जारमार्फत दैनिक २० लाख लिटर र बोतलमार्फत करिब साढे दुई लाख लिटर पानी किनबेच हुने गरेको तथ्यांक व्यवसायीसँग छ । मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी ल्याउने भनिए पनि पहिरोका कारण उक्त आयोजना क्षतिग्रस्त भएपपछि समस्या बल्झिएको हो ।