काठमाडौं – चौँथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङ राई र रसिला तामाङले जितेका छन् । शनिबार भएको प्रतियोगितामा पुरुषतर्फको उपाधि कुलुङ राईले जितेका हुन् । उपाधिसँगै उनले ५० हजार रूपैयाँ हात पारेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाईको पाँचपोखरीबाट १६ सय मिटरमा रहेको रैथानेपोखरीसम्म भएको प्रतियोगितामा कुलुङले निर्धारीत दुरी १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पुरा गर्दै पहिलो भए ।
दोश्रो र तेश्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमश २ घण्टा २९ सेकेण्ड र २ घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पुरा गरे । उनीहरूले क्रमश ३० हजार र २० हजार रूपैयाँ हात पारे। चौथो र पाँचौ स्थान हासिल गर्ने अर्जुन कुलुङ र तीर्थ तामाङले १० हजार र ५ हजार रूपैयाँ जिते । महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो भईन् । उनले निर्धारित दुरी २ घण्टा ४४ मिनेट ४३ सेकेण्डमा पुरा गरिन् । उपाधिसँगै उनले ५० हजार रूपैयाँ प्राप्त गरिन् ।
सिन्धुपाल्चोकका नितु तामाङ दोस्रो बनिन् । निर्धारीत दुरी २ घण्टा ४६ मिनेट २५ सेकेण्डमा पुरा गर्दै नितु दोश्रो बनेकी हुन् । तेश्रो, चौँथो र पाँचौ स्थान क्रमश संगिता बुढामगर, आश्मा बिश्वकर्मा र निर्मला राईले हात पारे । उनीहरूले क्रमश ३० हजार, २० हजार, १० हजार र ५ हजार रूपैयाँ हात पारे ।
प्रतियोगितामा सिन्धुपाल्चोकका सहभागितर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारे । पुरुषतर्फ उपाधि जितेका संचले १५ हजार र महिलातर्फकी नितुले १० हजार पुरस्कार जितिन् । भेट्रान पुरुषतर्फ गोर्खाका भिम बहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भए । उनीहरूले समान १० हजार पुरस्कार जिते । प्रतियोगितामा सहभागि खेलाडीको हौसला बढाउन यसपटक म्याराथनका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर पनि दौडमा सहभागिता जनाएका थिए । प्रदेश खेलकुद विकास परिषद बागमती र नेपाल एथ्लेटिक्स संघले संयुक्त रूपमा यस प्रतियोगितामा सहकार्य गरेका थिए ।