जनकपुरधाम– जनकपुरधाममा निषेधाज्ञा जारी गरिएको छ । शनिबार दुई समुदायबीच धनुषामा झडप भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा विवाद हुँदा उग्ररूप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । छठ पर्वको दिन देवपुरा रूपैठास्थित तेलिया पोखरीमा घाट निर्माण गर्ने विषयमा विवाद हुँदा भएको झडपमा चारजना हिन्दू समुदायका व्यक्ति घाइते भएका थिए। सोही विषयलाई लिएर शनिबार मुस्लिम र हिन्दू समुदायबीच विवाद हुँदा पुनः उग्ररूप लिएको छ ।
झडपमा दुई जना प्रहरीसहित तीन जना घाइते भएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिलासमेत गरी तीन जना घाइते भएका छन् । झडपमा परेर ६ प्रहरी घाइते भएका छन् । धनुषा प्रहरीका अनुसार एकजना नेपाल प्रहरी र पाँच सशस्त्र प्रहरी घाइते भएको जानकारी दिए । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि २७ राउन्ड अस्रुग्यास प्रहार गरेको छ । झडप थप उग्र हुन थालेपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सो वडामा निषेधाज्ञा जारी गरेका छन् ।
शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए । स्थानीय प्रशासनले पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।