काठमाडौं– अभिनेत्री आँचल शर्माले फिल्म निर्माणको क्षेत्रमा पनि हात हाल्ने भएकी छन् । फिल्म ‘नाइँ नभन्नू ल ४’ बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी आँचलले फिल्म निर्माणको क्षेत्रमा पनि हात हाल्ने तयारी गरेकी हुन् ।
दुई वर्ष अगाडि उदीप श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी उनले श्रीमानलाई निर्माताको रूपमा उभ्याएर फिल्म बनाउन लागेकी हुन् । फिल्मलाई मिलन चाम्सले निर्देशन गर्नेछन् । आँचल दाम्पतिले कयौँ पटक निर्देशक चाम्सको घरमा बसेर फिल्मको बारेमा छलफल गरेका छन् । तर, यो फिल्म तत्कालै बन्ने छैन । अहिले मिलन फिल्म ‘गोर्खा वारियर २’ निर्माणको तयारीमा छन् । योसँगै उनको पाइपलाइनमा अर्को दुईवटा फिल्म छ ।
आँचलले बनाउने फिल्म एक वर्षपछि मात्र छायांकन निस्कन सक्नेछ । फिल्ममा उनी नै मुख्य भूमिकामा देखिने सम्भावना रहेको बताइन्छ । फिल्मका लागि नायकको अफर भने प्रदीप खड्कालाई गरिएको स्रोतले जानकारी दिएको छ । दशैंअघि प्रदीपसँग मिलन चाम्सको केही चरण फिल्मको बारेमा कुराकानी भएको थियो । प्रदीपलाई फिल्मको स्क्रिप्ट मन परे पनि काम गर्ने वचन दिइसकेका छैनन् ।
फिल्म ‘हुतुतु’ का कारण उनले निर्णय दिन नसकेको बताइन्छ । उनले फिल्ममा काम गर्नेमा मिलन र आँचल भने विश्वस्त छन् ।
फिल्ममा प्रदीपलाई लिने प्रस्ताव आँचलले नै निर्देशक चाम्ससमक्ष राखेको बताइन्छ । गत बैशाखमा फिल्म ‘प्रकाश’ को सुटिङ सकेर बसेका प्रदीपको ‘प्रेमगीत ३’ प्रदर्शनको पखाईमा छ । उनले हेमराज विसीको फिल्म पनि साइन गरेर बसेका छन् । प्रदीप र मिलनले यसअघि फिल्म ‘लिलिबिली’ मा सहकार्य गरेका थिए । तर, यो फिल्म प्रदर्शनसँँगै उनीहरूको सम्बन्धमा खटपट आएको थियो । अब उनीहरू पुरानो दुश्मनी भुलेर पुनः एकपटक फिल्ममा सहकार्य गर्ने तयारीमा रहेको फिल्म बजारमा चर्चा व्यापक भएको छ ।