काठमाडौं– अमेरिकाको मेरिल्याण्डमा वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र चर्चित गायिका इन्दिरा जोशीको ‘ह्यापी हर्ट’ बोलको गीत विमोचन गरिएको छ । गत १३ नोभेम्बरमा मुलुक बाहिर ३० वर्ष अगाडि सबैभन्दा पहिले स्थापित नेवा समुदायको सामाजिक संस्था ‘नेपा पास पुचः अमेरिकाय’ (एनपिपिए)को ३० औँ वार्षिकोत्वसको अवसरमा गीत विमोचन गरिएको हो ।
नेपाल सम्वत ११४२ को अवसरसमेत पारेर आयोजना गरिएको एक समारोहमा सार्वजनिक गरिएको गीत युटयुबमा पनि सार्वजनिक गरिएको हो । उक्त गीत मदनकृष्ण श्रेष्ठकै छोरी सरानाले लेखेकी हुन् भने संगीत छोरा यमनले गरेका हुन् । अमेरिकामा विमोचन गरिएकै दिन उक्त गीतलाई मदनकृष्ण श्रेष्ठका छोरा यमनले आफ्नो युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । उक्त गीतको म्युजिक भिडियामा मदनकृष्णकै छोरी सराना, छोरा यमन, र गायिक इन्दिरा जोशीको अभिनयसमेत रहेको छ ।
अमेरिकाबाट गीत विमोचन गर्ने भनेको मिति र तिथि तय भएको दिन नै नेपालमा मदनकृष्णका सहकर्मी हरिवंश आचार्यको जन्म दिन परेको थियो । मदनकृष्णले उक्त अवसरमा हरिवंशलाई ‘अर्बौ मान्छेहरूमा तिमी विशेष मन मिल्ने मान्छे’ भन्दै सामाजिक सञ्जालमार्फत शुभकामना दिएका थिए । उनले हरिवंश जन्मिएको दिन आफ्नो लागि विशेष दिन भएकाले सोही दिन आफ्नो गीतको विमोचन गरेको पनि स्पष्ट पारेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘छोरी सराना श्रेष्ठले गीत लेखेर, त्यस गीतमा छोरा यमन श्रेष्ठले संगीत भरेर सराना कै निर्देशनमा निर्माण गरेर मलाई उपहारको स्वरूप दिएको यो ह्यापी हर्ट नयाँ गीतको म्यूजिक भिडियो तिमी (हरिवंश )आचार्य लगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई एउटा सानो उपहार स्वरूप साझा (शेयर) गरेको छु ।’ उक्त गीतको संगीत संयोजन उदयराज पौडेलको रहेको छ भने म्युजिक भिडियोको छायांकन हरि हुँमागाईले गरेका छन् । कोरियोग्राफर राजिव समरले गरेका हुन भने नविन निरौलाले सम्पादन गरेका हुन् ।