चितवन– नेकपा (माले) को आठौँ महाधिवेशनले महासचिवमा पुनः सीपी मैनालीलाई चयन गरेको छ । सोमबार बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो । महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रमः नयाँ जनवाद् र राजनैतिक प्रतिवेदन महासचिव मैनालीलले प्रस्तुत गरेका थिए ।
कात्तिक २७ देखि सोमबारसम्म सञ्चालन भएको महाधिवेशनको बन्द शत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थिए । महाधिवेशनले विधान संशोधन गरी हाल रहेको केन्द्रीय समितिको संख्या थप गरी ८१ पु¥याएको छ । पुसमा बस्ने मालेको केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागीय जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको मालेका केन्द्रीय सदस्य दीननाथ घिमिरेले जानकारी दिए ।
स्थायी कमिटी सदस्य एनपी आचार्यद्वारा संगठनका सिद्धान्त, डम्बर श्रेष्ठद्वारा पार्टी विधान संशोधन, पार्टी प्रवक्ता कुमार बेलबासेद्वारा पार्टीको तात्कालीन कार्यनीति र दिननाथ घिमिरेद्वारा संगठनात्मक प्रतिवेदन पेश गरेका थिए । पेश गरिएका प्रतिवेदन सुझावसहित पारित गर्ने निर्णय भएको घिमिरेले जानकारी दिए । महाधिवेशनले अहिलेको बेलायती शैलीको संसदीय प्रणाली नेपालमा असफल भई सकेकाले यसको खारेज गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रप्रमुख बनाउनुपर्ने निर्णय गरेको छ । विधान संशोधन गरी सानो आकारको मन्त्री परिषद्को व्यवस्था हुनुपर्ने भनेको छ ।
मालेले विधानमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञमन्त्री परिषद् १५ सदस्यीय हुनुपर्ने माग गरेको घिमिरेले जानकारी दिए । संसदीय निर्वाचन पूर्ण समानुपातिक हुनुपर्ने मालेले विधानमा उल्लेख गरेको छ । विधिको आधारमा दल चल्नुपर्ने, नेपाली मोडलको संघीयता कायम गरी प्रदेश खारेज गर्नुपर्ने मालेको मुख्य माग रहने गरी महाधिवेशन सम्पन्न भएको हो ।