
सोलुखुम्बु– सोलुखुम्बुको सल्लेरीस्थित दुई हजार तीन सय पचास मिटर उच्च ठाउँमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएको छ । लायन्स क्लब अफ काठमाण्डु ब्लड सर्कलले सोलुखुम्बुको सल्लेरीस्थित योङ स्टार क्लबसँगको सहकार्यमा ७१ जनाले रक्तदान गरेर विश्व कीर्तिमान बनाएको हो । । ससल्लेरी बजार प्रदेश नं. १ अन्तर्गत सगरमाथाको आधार शिबिर जाने मुख्य नाका तथा जिल्लाको सदरमुकाम हो ।
आयोजक टिमका अनिल तुलाधरले सोही दाबीलाई गिनिज बुक अफ वर्ड रेकर्डको लागि पहल गर्ने समेत जनाए । ‘यसअघि यति धेरै अग्लो ठाउँमा धेरै जनाले एकैपटक रक्तदान गरेको हामीले भेटाएनौं । त्यसैले पनि विश्व जगतले चिन्ने सगरमाथाको काखमा आएर हामीले विश्व कीर्तिमानको लागि प्रयास गरेका छौं ।’ उनको दाबी थियो ।
चिसो ठाउँ, ब्लड बैंक नभएको र प्राविधिक जनशक्ति अभाव भएको ठाउँमा रक्तदान गर्नु चुनौपूर्ण मानिएको छ । समग्र सोलुखुम्बु जिल्लामै ब्लड बैंक छैन । त्यसैले पनि यस्तो दुर्गम ठाउँमा रक्तदान गर्नु चुनौतीपूर्ण भएको उनले बताए । विशेष गरी रक्तदान गरेलगत्तै त्यसलाई सुरक्षित तबरले निर्धारित तापक्रममा सम्बन्धित ठाउँमा राख्नुपर्ने हुन्छ भने अर्काेतर्फ रगत संकलन गरेर प्रयोग गर्नु बेस हुन्छ । सोलुखुम्बुमा यी आधारहरू बनिसकेका छैनन् ।