
काठमाडौं– लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि धेरैको संख्यामा आवेदन परेको छ । कोरोना महामारी तथा अन्य प्राविधिक कारणले नियमित वितरण हुन नसकेको सवारी चालक अनुमति पत्र पाउनका लागि तीन साताको समयभित्रै करिब चार लाखको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । नयाँ अनुमति पत्र प्राप्ति र सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि सो संख्यामा आवेदन परेको हो । विभागले अनुमति पत्रका लागि अनलाइनमार्फत आवेदन दिनसक्ने व्यवस्था गरेको छ । सोहीअनुसार सवारी चालक अनुमति पत्र लिनका लागि अनलाइनमार्फत नयाँ आवेदन दिनेको संख्या तीन साताको अवधिमै चार लाख पुगेको हो ।
कोरोना महामारीका कारण बन्द भएको आवेदन फर्म भर्ने काम विभागले ८ कात्तिकदेखि पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेका थियो । ती दुवै समयको आवेदकको संख्या अहिले झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताएका छन् ।
कोभिड संक्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरेको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमितरूपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिक रूपमा नयाँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा.भुसालले बताए । कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनःखुलाइएको भए पनि बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । प्राविधिक समस्या उत्पन्न भएपछि उक्त समयमा सेवा अवरुद्ध भएका थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले जानकारी दिए ।
गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ । उनले भने, ‘अहिले अपडेट गरेपछि फारम बुझाउन सकिएन भन्ने गुनासो छैन ।’
०७६ साल चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गत वर्ष माघमा संक्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि संक्रमण पुनःबढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमितरूपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् । एकातिर सरकारले सवारी चालक अनुमति पत्रका लागि नियमित परीक्षा सञ्चालन गर्न नसक्ने र अर्कातर्फ सडकमा ट्राफिक प्रहरीले अनावश्यक हैरानी दिने गरेकाले दोहोरो मारमा परेको चालकहरूको गुनासो छ । सरकारले नियमित परीक्षा सञ्चालन गर्न नसक्दा सवारी चलाउन योग्य व्यक्तिले पनि निर्वाध सडकमा सवारी साधन सञ्चालन गर्न नसक्ने उनीहरूको गुनासो छ ।
यसरी सवारी चलाउन जान्ने व्यक्तिले ट्राफिक प्रहरीको आँखा छल्दै सवारी चलाउँदा दुर्घटनाका जोखिम बढ्ने गरेको सरोकारवालाहरूको भनाइ छ । हाल भइरहेको सवारी दुर्घटनामध्ये अधिकांश दुई पांग्रे सवारी चालकसँग सवारी चालक अनुमति पत्र नहुने गरेको बताइएको छ । उनीहरूले राम्रै सवारी चलाउन जाने पनि सडकमा ट्राफिक प्रहरीको कारबाहीको भयका कारण आत्मविश्वास गुमाउँदा नियन्त्रण समेत गुमाउने गरेको बताइन्छ । त्यसैले अब विभागले नियमित सवारी चालक अनुमति पत्रका लागि परीक्षा सञ्चालन गरेर अनुमति पत्र वितरण गरेमा ट्राफिक व्यवस्थापन र दुर्घटनाको जोखिम कम गर्न पनि सहज हुने बताइन्छ ।
कार्यालय समयमा आवेदन नभरिने
अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ । दिउँसोको समयमा आवेदन भर्नेहरू धेरै हुँदा प्रणाली ‘स्लो’ भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन आवेदन भर्न नपाइने व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले केही दिन कार्यालय समयमा प्रणालीमा अनलाइन आवेदन भर्न नसकिने बताएका छन् ।
प्रणालीलाई बलियो बनाएर केही दिनपछि फेरि २४ घन्टा नै खोल्न मिल्ने बनाइने उनले जानकारी दिएका छन् । अहिले केही समयलाई कार्यालय समयमा आवेदन भर्न रोकिए पनि अन्य समयमा भर्न कुनै समस्या नहुने उनको भनाइ छ । प्रणाली सुस्त हुँदा कार्यालयहरूको सेवा प्रभावित हुने भएकाले यस्तो उपाय लगाइएको भुसालले बताए ।