काठमाडौं– नेपाली कथानक चलचित्र ‘बुलाकी’को छायांकन पश्चिम हिमाली जिल्ला डोल्पामा धमाधम भइरहेको छ । तिहारलगत्तै छायांकन सुरु गरिएको ‘बुलाकी’को करिब ३५ प्रतिशत दृश्य खिचिसकिएको निर्माण टिमले जानकारी दिएको छ । डोल्पाको त्रिपुरा नगरपालिकाको सु गाउँ, लहरालगायतका स्थानमा छायांकन भइरहेको फिल्मका लागि तिहार अघि नै फिल्म युनिट काठमाडौंबाट डोल्पा पुगेको थियो ।
छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा मोति विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका छन् । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता विराज विष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीलगायतका कलाकार प्रमुख भूमिकामा छन् । इन्टरनेट तथा मोबाइल टावरको व्यवस्था नभएको स्थानहरूमा छायांकन भइरहेकाले आफूहरू अर्कै दुनियाँमा पुगेजस्तो महसुस भइरहेको अनुभव नवअभिनेता विराजले सुनाएका छन् । ‘यहाँ न नेट छ, न मोबाइल टिप्छ,’ आफू सुगम स्थानमा आएको मौका छोपी फोन गरेको बताउँदै उनले भने, ‘हामी अर्कै दुनियाँमा आएजस्तो महसुस भइरहेको छ ।’
अभिनेत्री सुरक्षाले केही दिनअघि भौगिलिक, सामाजिक तथा प्राकृतिक हिसाबले बेग्लै स्थानमा त्यहाँका बासिन्दा जसरी बाँच्दाको अनुभूति फेसबुकमा पोस्ट गरेकी थिइन् । उनले धेरै कुरा लेख्न मन लागे पनि नेट नहुँदँ असमर्थ भएको उल्लेख गरेकी थिइन् । कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको फिल्मको छायांकार शिव ढकाल हुन् । से–फोक्सोन्डो तालमा समेत खिचिने फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, कमल गाउँले, अमित परियारलगायतको पनि अभिनय छ । सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ का गीतमा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । फिल्मको पूरा छायांकन सकिन अझै दुई साता लाग्ने बताइएको छ ।