
काठमाडौं– पाटन दरबार संग्रहालयभित्र अवस्थित मणि केशवनारायण मन्दिरमा ४० वर्षपछि सोमबारदेखि नित्य पूजा थालिएको छ । विभिन्न कारणले स्थगित भइरहेको सो पूजा हरिबोधनी एकादशीका दिन पारेर सोमबारदेखि थालिएको हो । मणि छँ ब्राह्मण समूहका सहयोगमा नारायणको क्षमा पूजा र विष्णु रुद्री पाठनसहित दैनिक नित्य पूजाको प्रारम्भ गरिएको पुजारी माधवश्याम शर्माले जानकारी दिएका छन् । उनका अनुसार मन्दिरको आयस्ता घट्दै गएपछि हरेक दिन पूजा चलाउन खर्च नभएकाले रोकिएको हो । सो एकतले गुम्बज शैलीमा निर्माण भएको मन्दिर पूजा गरिनाका साथै सर्वसाधारका लागि संग्रहालय खुल्ने समय खुला भएको उनले जानकारी दिए ।
सो मल्लकालीन मन्दिर विसं १९९० को भूकम्पले भत्किएपछि मर्मत र सम्भार गरी राखिएको संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताएका छन् र उक्त मन्दिरमा १५आँै शताब्दीको नारायणको मूर्ति रहेको र सो नारायणको दायाँ लक्ष्मी र गरुडलाई समेत दर्शन गर्न पाइने उनले जानकारी दिए । तत्कालीन राजा योगनरेन्द्र मल्लले सो नारायणसहित अन्य सात मणिगणेश, मणिचैत्य, मणिछँ, मणिभैरव, मणिमण्डप, मणिलिंगेश्वर र मंगहिटी अर्थात् मणिधारा नामक ८ मणि पाटनमा निर्माण गरी मणिगल क्षेत्र बनाएका बताइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ मा सो मन्दिर अवस्थित छ ।
ललितपुर प्राचीन समयदेखि नै वास्तुकला एवं धर्मसंस्कृति केन्द्रका रूपमा विकास हुनाका साथै विभिन्न समयमा हुने पर्व अनि जात्राहरू आदि विविध पक्षका लागि प्रसिद्ध क्षेत्र हो । ललितपुर दरबारका प्रमुख अंगहरूमा तलेजु अनि द्घिमाजु मन्दिर, सुन्दरी अनि नासल तथा मूल र केशवनारायण चोक रहनाका साथै तुसा अनि लोहिटी र भण्डारखाल बगैँचा आदि समेत छन् । दरबारको पश्चिमी प्रांगणमा नेपाली छानेशैलीका हरिशंकर अनि चारनारायण तथा विश्वनाथका साथै भीमसेन मन्दिर र शिखर एवं गन्धकूट शैलीका नरसिंह मन्दिरसमेत रहेको छ । ललितपुरका युपग्राम अनि यल तथा मणिगल र ललितपुरी आदि प्राचीन नाम हुन् । ललितपुरमा किरातको राजदरबार थियो भन्ने किंवदन्तीे छ ।