
रूपन्देही– प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसामा शून्य सहनशिलता अपनाई पीडित सद्भावपूर्ण व्यवहार दिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रूपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्दै उनले सो निर्देशन दिएका हुन् । उनले सो अवसरमा उक्त भवनको निरीक्षण गर्नुका साथै सोही परिसरभित्र वृक्षरोपण समेत गरे ।
उक्त अवसरमा महानिरीक्षक थापा क्षत्रीले महिला तथा बालबालिका विरुद्ध हुने हिंसामा शून्य सहनशिलता अपनाई पीडित महिला एवं बालबालिकाहरूले पाउनुपर्ने सद्भावपूर्ण व्यवहार एवं परामर्श र पीडकहरूले पाउनुपर्ने सजायको निम्ती कटिबद्ध हुनसमेत निर्देशन दिए ।
उनले निर्माण कार्यमा सहयोग प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद दिँदै भवनको समुचित प्रयोग गर्न उपयुक्त कार्यबिधि निर्माण गरी संरक्षण एवं संवर्दन गर्नुपर्ने उल्लेख गरे ।
सिमित साधन स्रोतका बाबजुद उत्कृष्ट प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षत्रीले भने, ‘नागरिकलाई प्रदान गर्ने सेवामा कुनैपनि सम्झौता गर्न सक्दैनौ । प्रहरीले जनताप्रति देखाउने व्यवहार र प्रहरी सेवामा सुधार गर्दै क्रियाशिल हुनुपर्छ ।’
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्यले उक्त कार्यक्रममा लण्डनका प्रतिनिधि डा. करुणा वन्त र प्रोजेक्ट मेनेजर कोमल कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राम दत्त जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । हाल बनेको भवन निर्माण कार्यको लागी कूल ७ करोड ७६ लाख ६३ हजार २ सय ३२ रूपैयाँ ८१ पैसा लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, लुम्बिनी प्रदेशस्थित प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
यसैगरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले संघीय प्रहरी ईकाई कार्यालय भैरहवा रूपन्देहीमा बिहीबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवल, लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवल, दङ्गा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासी, जिल्ला प्रहरी कार्यालय रूपन्देही, जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम), जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुखहरू तथा मातहत विभिन्न प्रहरी ईकाईका प्रमुखहरूलाई समसामहिक बिषयमा निर्देशन समेत दिए ।
निर्देशनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षत्रीले समाजमा हुने आपराधिक कृयाकलाप लगायत महिला तथा बालबालिका विरुद्ध हुने अपराधमा थप संवेदनशील भई जिम्मेवारी वहन गर्नुपर्ने बताए । कानुन कार्यान्वयनको सिलसिलामा कुनैपनि सम्झौता गर्न नहुने बताउँदै उनले संगठनले लिएको नीति एवं कार्ययोजनाप्रति कटिबद्ध रहन समेत जनाए ।